नेपालमा ठूलो संख्यामा कोरोना परीक्षण नगरिए संक्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी

admin

काठमाडौं, १२ साउन : सरकारले नेपालका केही जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि मास टेस्टिङ अर्थात् ठूलो संख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ ।

भारतसँगको सीमावर्ती जिल्लाहरूमा संक्रमितको संख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै संक्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको हो ।

विगतमा काठमाडौं उपत्यकामा गरिएको मास टेस्टिङ अहिले नाकाहरूमा थालिएको र अब छिट्टै संक्रमितको संख्या बढेका जिल्लाहरूमा थालिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले ‘मास टेस्टिङ’ राम्रो विकल्प नभएको बताएका छन् । सरकारले सुरुमा प्रतिदिन १०,००० पीसीआर परीक्षण गर्ने बताए पनि पछिल्ला दिन ४,००० को हाराहारीमा मात्रै परीक्षण भइरहेको छ ।

त्यति संख्यामा परीक्षण हुँदा डेढ सयको हाराहारीमा संक्रमित देखिनु संख्यात्मक हिसाबले धेरै भएको भन्दै परीक्षणको दायरा र संख्या बढाउनुको विकल्प नरहेको डा. मरासिनीले बताए । डा. मरासिनीले भने ‘दैनिक १०,००० को संख्यामा परीक्षण पुर्‍याइएन भने निकै भयावह अवस्था आउनेछ । अबको १५/२० दिनमै नियन्त्रण गर्न गाह्रो हुने गरी संक्रमण देखिनेछ।’

तर सरकारी अधिकारीहरू भने अहिलेसम्म समुदायस्तरमा संक्रमण पुगिनसकेको दाबी गर्दै आएका छन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘हामीले जुन मापदण्ड मानेर स्थानीय स्तरमा छरछैन भन्ने यकिन गर्ने हो । त्यो हेर्दा समुदायस्तरमा देखिएको छैन ।’

सरकारले करिब ४५,००० को मास टेस्टिङ गर्ने भन्दै काठमाडौंमा परीक्षण थालेको थियो । काठमाडौंमा ५,००० परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण देखिएको छ । काठमाडौं प्रवेश गर्ने नाकाहरूमा परीक्षण गर्न भनेर दुई दिनदेखि काम सुरु भएको डा. अधिकारीले बताए ।

उनले भने, ‘काठमाडौं प्रवेश गर्ने नाकाहरूबाट परीक्षण गर्दा कुन क्षेत्रका मानिसमा संक्रमण छ भन्ने थाहा पाएर कन्ट्याक्ट ट्रेसिङ्ग गर्न सजिलो हुन्छ भनेर हामीले थालेका हौँ ।’ ‘जुन क्षेत्रका स्थास्थ्य अधिकारीबाट संक्रमणको विषयलाई लिएर चिन्ता बढेका छन् ती क्षेत्रमा मास टेस्टिङ गर्ने भनेर काम थालेका छौँ ।’

उनका अनुसार प्राथमिकतामा राखिएका क्षेत्रहरूमा काठमाडौं, मोरङ, कास्की, बाँके, रुपन्देही, बारा, पर्सा र सप्तरी छन् । कतिपय स्थानीय निकायले संक्रमितको संख्या बढेको भन्दै सूचना जारी गरेका छन् ।

विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले पनि नगरभित्र सामुदायिक रुपमा संक्रमण फैलिन सक्ने भन्दै सोमबारदेखि अति आवश्यक सेवाबाहेक अन्य सेवाहरू बन्द गरेको छ । वीरगञ्जमा पछिल्ला दिनमा संक्रमण व्यापक फैलिएको डा. मरासिनीले बताए ।

उनले भने, ‘वीरगञ्जमा सबैजसो अस्पतालमा संक्रमण देखिएर बन्द हुन थालिसके । अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । ‘अब हामीले दैनिक १०,००० को संख्यामा परीक्षण गरेनौँ भने अवस्था नियन्त्रण गर्नै नसक्ने भएर जान्छ ।’

प्रतिक्रिया