काठमाडौं, १२ साउन : पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ ।
गएको साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार सात सय तथा चाँदीको मूल्य प्रतितोला सात सय ७५ रुपैयाँ कायम भएको थियो ।
यस्तै एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला चार सय ३५ रुपैयाँ वृद्धि भएको छ । त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा सोमबार पनि उच्च वृद्धि भएको छ ।
महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ । महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० रुपैयाँ निर्धारण गरेको छ ।
यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय ६० रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ ।
मनि मेटल एक्सचेन्जका अनुसार (आज) सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२ दशमलव २० डलर पुगेको छ । सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ ।
महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउँछन् । सुन प्रतितोला झण्डै एक लाख रुपैयाँ पुग्नै लागे पनि यसको कारोबार भने ठप्प रहेको उनको भनाइ छ ।