नेकपा बैठक आज : यस्तो बन्दै छ समीकरण

admin

काठमाडौं, १३ साउन : नेकपा स्थायी समिति बैठक कुन रूपमा टुंग्याउने भनेर दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ। दुवै पक्ष आआफ्नो अडानमा टसमस नभएकाले मंगलबार बोलाइएको बैठक राख्ने/नराख्ने विषयमै मतभेद हुने अवस्था देखिएको छ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ। पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद कायम छ।

स्थायी समिति बैठक मंगलबार (आज) बिहान ११ बजेका लागि तोकिएको छ। अध्यक्ष पुष्पकमल दाहाललाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठक नरोक्न र प्रधानमन्त्री सहमतिमा नआए पनि पार्टी कमिटीबाटै बहुमत/अल्पमतकै आधारमा निर्णय प्रक्रियामा जान दबाब बढाएका छन्। दाहालले पनि अब प्रक्रिया नरोक्ने, पार्टीको नियमित एजेन्डामै छलफललाई फर्काउने गरी जाने धारणा नेताहरूसँगको छलफलका क्रममा व्यक्त गरेका छन्।

‘अब बैठक रोकिँदैन। मंगलबार तय गरिएको बैठक हामी बस्छौं। पार्टी एउटा निर्णयमा पुग्नै पर्ने हुन्छ। सकेसम्म सहमतिमा नभए पनि बहुमतको कुरा मान्नै पर्ने हुन्छ’, वरिष्ठ नेता खनालले भने, ‘पहिला अब पार्टीमा छलफल हुन्छ, त्यसमा कुनै सहमति नभए नयाँ निर्णय गरेर जानुपर्छ। त्यसका लागि परिस्थिति हेरेर निर्णय हुनेछ।’

दाहाल–नेपाल समूहले स्थायी समिति नरोक्ने तयारी गरे पनि ओली पक्षले भने अझै पनि दाहालसँगको छलफलका आधारमा मात्र मंगलबारको बैठकका विषय टुंगो लाग्ने बताएको छ। ओली पक्षका स्थायी समिति सदस्यसमेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले दुई अध्यक्षको छलफलका आधारमा निस्किने निर्णयअनुसार पार्टी अगाडि बढ्ने बताए।

‘मंगलबार (आज) बिहान दुई अध्यक्ष बिहान ९ बजे छलफलमा बस्नुहुन्छ। उहाँहरूले सल्लाह गर्नुहुन्छ। त्यहीअनुसार हुन्छ’, नेम्बाङले अन्नपूर्णसँग भने, ‘अहिलेसम्मको सम्पूर्ण प्रक्रिया भनेकै दुई अध्यक्षबीचको सहमतिको प्रक्रिया हो।

महाधिवेशनलाई त हामीले एकता र सहमतिको महाधिवेशन भनेका छौं। अहिलेसम्म पार्टीको एकता प्रक्रिया ढिला हुनुमा पनि दुई अध्यक्षबीचको सहमति र एकता हो। त्यसैमा ढिलाइ हुँदा पार्टी एकता प्रक्रियामा ढिलाइ भएको हो। त्यसकारण हाम्रो विधि, प्रक्रिया र मान्यता भनेको सहमतिमै निर्णयमा जानु हो। त्यसैले दुई अध्यक्ष बिहान छलफल गरेर जे निष्कर्षमा पुग्नुहुन्छ, त्यहीअनुसार हुन्छ।

ओली र दाहाल गत असार १८ गतेयता निरन्तर छलफलमा छन्। ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिइरहेका छन्। दाहालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुईमध्ये एउटा पदबाट राजीनामा दिन ओलीलाई भनिरहे। त्यहीबीच साउन ३ को सचिवालय बैठकअघि दुई नेताबीच विवाद हल गर्ने उपायस्वरूप ‘अर्ली’ महाधिवेशन गर्ने, ओलीले महाधिवेशनमा दाहाललाई सहयोग गर्नेलगायत विषयमा करिब सहमति जुटेको थियो।

त्यसपछि सचिवालयमा ओलीले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव ल्याए। दाहाल मौन बसेरै सहमति जनाए। तर, खनाल, नेपाल र श्रेष्ठले महाधिवेशन मंसिरमै सम्भव नभएको भन्दै प्रश्न उठाए। त्यसपछि फेरि दाहाल मंसिरमै महाधिवेशन नहुने भन्दै पछि हटेका थिए। त्यसयता ६ साउनमा थोरै समयका लागि स्थायी समिति बैठक बस्यो। अनि तय भयो १३ साउनका लागि अर्काे बैठक।

९ साउनमा दाहाल–ओली एक चरण छलफलमा बसे। तर, त्यसपछि छलफलसमेत हुन सकेन। सहमति नजुटेपछि दुवै पक्ष आआफ्ना रणनीति बनाउनै लागिपरे। दाहालले वरिष्ठ नेता नेपाल, खनाल प्रवक्ता श्रेष्ठ, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापासँग पटक–पटक छलफल गरे।

ओलीले पनि दाहाल र नेपालनिकट प्रभावशाली नेता, केही मन्त्रीसम्मलाई अलग–अलग भेटेर छलफल गरे। आफूनिकट नेतासँगको छलफल दुवै पक्षले निरन्तर जारी राखे। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया