भदौ १ देखि उडान त खुल्छ, तर सामान्य अवस्थाजस्तो हुँदैन : उड्डयन मन्त्रालय

admin

काठमाडौं, १३ साउन : केही दिनदेखि रोकिएको उद्धार उडान शुक्रबार जुलाई ३१ देखि फेरि सुरु हुँदैछ । खाडीका देश र मलेसियामा हजारौं श्रमिक स्वदेश फर्कने दिन कुर्दै बसिरहेका छन् ।

कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा भिसा, करार सकिएकादेखि रोजगारी गुमाउँदा समस्यामा परेका श्रमिकको प्राथमिकताको आधारमा सरकारले गएको जेठ ३२ गतेदेखि चार्टर्ड जहाजमार्फत उद्धार गरिरहेको छ ।

जुलाई ३१ देखि अगष्ट ८ सम्म उद्धार उडान तालिका तय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । प्रतिकुल मौसमको कारण विदेशबाट उद्धार गरेर ल्याइएकालाई सम्बन्धित पालिका वा जिल्लामा पुर्‍याउन समस्या भएपछि केही दिनयता उद्धार उडानहरु भएका छैनन् ।

अहिले चार्टर्ड जहाजमार्फत स्वदेश फिर्तीको प्रक्रिया हुँदा समस्यामा पर्नेहरूले टिकट नपाएको गुनासो पनि गरिरहेका छन् । सरकारले अब भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु खोल्ने निर्णय गरिसकेको छ । तर सामान्य अवस्थामा झैं उडानहरु हुने छैनन् ।

कोरोना महामारीका बेला समस्यामा परेका र स्वदेश फर्कन नपाएकासँगै अरु यात्रुको पनि आवतजावत सहजताका लागि मात्रै सैद्धान्तिक रुपमा उडानहरु खोल्ने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताएका छन् ।

‘उडान खोल्दा सुरक्षा पहिलो प्राथमिकतामा पर्छ, त्यसबारेमा छलफल र तयारी भइरहेको छ,’ सहसचिव लामिछानेले भने,‘पहिलेझैं त अब हुँदैन, सीमित रुपमा आउन जान खोज्नेको लागि एउटा सहज वातावरण बनोस् भन्ने उदेश्य हो ।’ उनका अनुसार अहिले भदौ १ गतेदेखि हुने उडानको प्रक्रियाका बारेमा तयारी भइरहेको छ ।

नेपाल फर्किनुपर्ने श्रमिकहरुलाई कसरी सुविधापूर्ण ढंगले ल्याउने, नियमित उडानले उनीहरुको मागलाई कसरी सम्बोधन गर्ने भन्ने सम्भावनाहरु हेरेर फेरि अर्को निर्णय हुन पनि सक्ने सहसचिव लामिछानेले बताए । भदौ १ देखि उडानहरु खुल्दा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको स्वदेश फिर्तीसँगै सबै किसिमका यात्रुको आवतजावतलाई विस्तारै सहज बनाउँदै लैजाने सरकारको तयारी छ । तर अन्तर्राष्ट्रिय उडान हुनका लागि अन्य देशले पनि उडानहरु खोल्नु पर्छ ।

नेपाली श्रमिकको श्रम गन्तव्य देशमध्ये कतिपय देशमा त अझै पनि उडानका बारेमा कुनै निर्णय भएको छैन । तर कतार लगायतका केही देशले भने अगष्ट १ देखि विदेशी नागरिकको प्रवेश खुल्ला गरेका छन् । नियमित उडान खुलेपछि पनि प्राथमिकता भने नेपाली श्रमिक धेरै रहेका देशबाट नै उडानलाई प्राथमिकता दिने सरकारको तयारी छ ।

प्रतिक्रिया