पितृभोजमा खीर खाएका २८ जना बिरामी

admin

पाल्पा, साउन १३ : जिल्लाको रामपुर नगरपालिका–७ मोहतीमा खीर खाँदा २८ जना बिरामी परेका छन्। बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए। यद्यपि उनीहरूको अवस्थ खतरामुक्त छ। बिरामी सबै एउटै टोलका हुन्। छिमेकी स्वर्गीय मानबहादुर विकको काजकिरियापश्चात् उम्कनेमा आयोजना गरिएको पितृभोजमा उनीहरूले खीर खाएका थिए।

उनका अनुसार खीर पाउडर दूधमा पकाइएको थियो। आइतबार खीर खाएका उनीहरूलाई सोमबार सामान्य पेट दुेखेको थियो। मंगलबार बिहानैदेखि पखाला लाग्ने, वाकवाकी लाग्ने र ज्वरोसमेत आउन थालेपछि रामपुर अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।

बिरामीमध्ये १३ जनालाई थप उपचारका लागि सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा रेफर गरिएको उनले बताए। अन्यको भने रामपुर अस्पतालमै उपचार भइरहेको छ। बिरामी पर्नेमा २० जना महिला, ३ जना बालबालिका र ५ जना पुरुष छन्। उनीहरूलाई ‘फुड पोइजन’ भएको हुनसक्ने उनले बताए।

प्रतिक्रिया