आरडीटी जाँच गरेको १४ सय असुल्दै बुढिनन्दा नगरपालिका

admin

बाजुरा, १४ साउन : बाजुराको बुढिनन्दा नगरपालिकाले आरडीटी जाँच गरेको १४ सय रुपैया शुल्क असुल गर्दै आएको छ । आफैले किट खरिद गरेको भन्दै जाँच गरे बाफत शुल्क लिने गरेको पाइएको छ ।

 

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले आरडिटि जाँच गरिरहेको छ, सो बाफत नगरपालिकाको निर्णय अनुसार शुल्क लिने गरेको पाईएको हो । जिल्लामा आउने र जिल्ला बाहिर जानेहरुको आरडिटी परीक्षणको १४ सय लिदै आएको स्थानीयले बताएका छन् ।

सरकारका जुनसुकै तहले आरडिटी परीक्षण गरेको पैशा नलिने निर्णय गरेको भए पनी जिल्लाको बुढिनन्दा नगरपालिकाले भने १४ सय लिने गरेको पाइएको छ । जहाजमा आउने र जाने सर्वसाधारणका लागि अनिवार्य गरेपछी आरडिटि जाँच गरेको नगरपालिकाले पैसा असुल्दै आएको खुलेको छ ।

जुनसुकै सरकारले किनेको भए पनी पैसा लिन नमिल्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए । केही दिन अगाडी गुनासो आएको र पैसा नलिन भनेर भनिसकेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताएका छन् । नेपाल सकारले नै निशुल्क गरेको आरडिटी परीक्षणको पैसा कोही कसैले लिन नमिल्ने गैह्रेले बताए । सरासर यो मनोमानी भएको प्रजिअले थपे ।

नगर उपप्रमुख सृष्टि रेग्मिका अनुसार स्थानीय तहले आरडिटी किट किनेका कारण पैसा लिने गरेको स्वीकार गरेकी छन् । आफूले १ हजार ३ सय ५० मा भ्याट सहित खरिद गरेको र १ हजार ४ सयमा परिक्षण गरिदै आएको बताएकी छिन् ।

स्थानीय तहले लिन मिल्छ भन्ने पत्रकारको प्रश्नमा पहिला सरकारले निशुल्क दिएका कारण निशुल्कै नै गरेको र हाल स्थानीय तहले किनेर ल्याएका कारण पैसा लिने गरेको उनले बताइन् । सरकार त सबै एकै होइन भन्ने प्रश्नमा उनले केही कुरा बताउन चाहिनन् र एउटै उत्तर स्वास्थ्य केन्द्रमा सोध्नु भन्ने जवाफ दिइन् ।

नगरपालिकाले किनेको भए पनी पैसा नलिनुपर्ने हो, स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए । स्वास्थ्य कार्यालयबाट गएको भए यस्तो किन गरेको भन्ने अधिकार स्वास्थ्य कार्यालयको हुने थियो तर स्थानीय सरकारका आफ्नै निर्णय हुन्छ आफूले केही बोल्न नमिल्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तको भनाई रहेको छ ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले भने नगरपालिकाले लिनु भनेको हो, त्यसैले लिएको हो । जहाज नेपालगञ्ज जादा अनिवार्य आरडिटि चेक गर्नुपर्ने भएपछि आरडिटि चेक गर्नेको संख्या बढेको जैशीले बताए । लिनमिल्ने नमिल्ने थाहा भएन तर नगरपालिकाले लिन भनेपछि १४ सय लिने गरेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रतिक्रिया