काठमाडौं महानगरपालिकाका थप ६ जनामा कोरोना पुष्टि

admin

काठमाडौं : काठमाडौं महानगरपालिका भित्र लामो समयदेखि बसोबास गर्दै आएको ३ जना सहित आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। १ नम्बर वडाका एकजना पुरुष, १० का एक पुरुष, ११ का १ पुरुष, १६ का २ जना पुरुष र २७ मा १ जना पुरुषमा देखिएको हो।

तराईका जिल्लाबाट आएका २ जना र अन्य १ जना भने भारतबाट आएका नागरिकमा कोरोना पुष्टि भएको काठमाडौं महानगरपालिकाको कोरोना फोकल पर्सन ज्ञानु ओलीले जानकारी दिए। उनका अनुसार अन्य ३ जना भने महानगरपालिका भित्र लामो समयदेखि घर बहालमा बसिरहेका थिए। महानगरपालिका भित्र थप ६ जना कोरोना संक्रमित थपिएसँगै १ सय ९ जनामा कोरोना पुष्टि भएको ओलीले जानकारी दिए।

यसैगरी, २४ घण्टामा राजधानीमा थप १५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार उक्त कुराको जानकारी दिएका हुन्। उनका अनुसार काठमाडौंमा १४ जना कोरोना संक्रमित भेटिएका छन् भने, भक्तपुरमा १ जना संक्रमित भेटिएका छन्।

काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा ७ जना,वीर अस्पतालमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा १ जना, स्टार अस्पताल प्रयोगशाला, सानेपा मा २ गरी काठमाडौंका १४ जनामा कोरोना संक्रमित भेटिएका छन् भने, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भक्तपुरका १ जनामा संक्रमित भेटिएका छन्।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको परीक्षण भइसकेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको १९ हजार २ सय ७३ पुगेको छ। यस्तै, बुधबार १ सय ४६ जना डिस्चार्ज भएका छन्। बुधबारसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २१ रहेको छ।

प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन्। आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार २ सय ३ जना उपचाररत रहेका छन्। जसमा प्रदेश नम्बर १ मा २ सय २६, प्रदेश नम्बर २ मा १ हजार ९ सय ८२, बागमती प्रदेशमा ४ सय ८३ र गण्डकी प्रदेशमा २ सय ८८ जना आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रतिक्रिया