वीरगञ्ज, १५ साउन : प्रदेश १ मा कोरोनाको कारण एक जनाको ज्यान गएको छ । प्रदेश १ भित्रकै नागरिकको ज्यान गएको यो पहिलो हो ।
बुधबार पोजेटिभ रिपोर्ट आएका मोरङको सुनवर्षी नगरपालिका-८ सिक्टीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।
४५ वर्षका पुरुष दुई महिनाअघि सुनवर्षीको क्वरेण्टीनमा बसेका र पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको सुनवर्षी नगरपालिकाका जनस्वास्थ्य प्रमुख किशोर मण्डलले जानकारी दिएका छन् ।
यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रदेश २ का सप्तरी र महोत्तरीका गरी दुई जनाको ज्यान गएको थियो । वीरगञ्जमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार बेलुका आएको परीक्षणको नतिजा अनुसार नारायणी अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पाइएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिए ।