नेपालगञ्जका ११ जना कर्मचारीमा कोरोना संक्रमण, बाँकेमा निषेधाज्ञाको तयारी

admin

बाँके, १५ साउन : आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ११ जना कर्मचारीसहित एकैदिन ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितमध्ये बाँकेका २७ जना, बर्दियाका सात जना र दाङका दुई जना रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बिहीबार एकैदिन ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गएकोले तीन दिने निषेधाज्ञा गर्न लागिएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ ।

समुदायस्तरमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो ।

गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा बिहीबार संक्रमण देखिएको छ ।

प्रतिक्रिया