राप्रपालाई ‘आईडीयू’को सदस्यता

admin

काठमाडौं, साउन १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सम्वर्द्धनवादी राजनीतिक दलहरुको छाता संगठन इन्टरनेसनल डेमोक्राटिक युनियन (आईडीयू)को सदस्यता प्राप्त गरेको छ । युनियन कार्यसमितिको ‘भर्चुअल’ बैठकले सदस्यता दिने निर्णय गरेको हो ।

क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अस्ट्रेलियाका सत्तारुढ दल लिबरल पार्टी अफ अस्ट्रेलियाले गरेको थियो । यसलाई माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए । नसिरले दक्षिण एसियाली मुलुकबाट थप सदस्य भएकामा खुसीसमेत व्यक्त गरेका थिए ।

विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा पनि सहभागी हुनुभएको थियो ।

बैठकमा अध्यक्ष थापाले संसारका सबै मुलुकहरुको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा थप चुनौतीहरु देखापरेको चर्चासहित सम्वर्द्धनवादी पार्टीहरुको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताउनुभयो ।

थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुद् र सुदृढ तुल्याउन आईडीयूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।संयुक्तराज्य अमेरिकाको वासिङ्टन डीसीमा आयोजना हुने बैठक कोभिड–१९ का कारण भर्चुअलमार्फत् गरिएको हो ।बैठकले नेपालसहित युक्रेन, स्वीडेन, अल्बानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको हो ।

युनियनको आगामी अन्तर्राष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदन गर्दै राप्रपालाई पूर्ण सदस्यता प्राप्त हुने पार्टीका नेता राजाराम बर्तौलाले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो ।

प्रतिक्रिया