काठमाण्डौमा सङ्क्रमण बढ्दै ,जुनसुकै बेला लकडाउन हुन सक्ने

admin

काठमाडौं : पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिए । काठमाण्डौमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या पाँच सय ९७ पुगेको छ । यसमध्ये काठमाण्डौ चार सय २३ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ५७ जना कोरोना सङ्क्रमित पुगेका छन् ।

काठमाण्डौ उपत्यकामा बढ्दो जोखिम
पछिल्ला दिनमा बढिरहेको संक्रमितहरुको संख्या, ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा पनि सङ्क्रमण देखिनु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरमा सङ्क्रमण बढ्नु, तरकारी पसल तथा महाबौद्धको होलसेल पसलका व्यापारीहरुमा कोरोना सङ्क्रमण हुनु लगायतका कारण काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम निकै बढेको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्नुहुन्छ, ‘काठमाण्डौ उपत्यकामा जोखिम ह्वात्तै बढेको सत्य हो, हामी थप परीक्षण तथा अनुसन्धानको काम गरिरहेका छौं, अहिले नै समुदायमा कोरोना फैलिसकेको भन्ने आधार छैन तर जोखिम भने निकै बढेको छ ।’

काठमाण्डौ उपत्यकामा सङ्क्रमित थपिने क्रम बढेपछि सरकारले काठमाण्डौ भित्रने नाकाहरुमा स्वाव संकलन गरेर परीक्षण गर्न थालेको छ । यसरी गरिएका परीक्षणमा पनि कोरोना सङ्क्रमण भेटिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पनि काठमाण्डौ उपत्यकामा जोखिम बढिरहेको भन्दै भन्नुहुन्छ, ‘काठमाण्डौमा सङ्क्रमितको संख्या बढिरहेको छ, सुरक्षित हुनको लागि दिनदिनै आग्रह गर्दा पनि पालना भएको छैन, यसले हाम्रो जनस्वास्थ्यमा दुर्घटना ल्याउन सक्छ, नाकामा पनि नियन्त्रण भएको छैन, यी सबै कुराले हामी उच्च जोखिममा रहेकोले यसलाई रोक्न सबैको सहयोग आवश्यक छ ।’

समूह र जनसम्पर्क हुनेमा सङ्क्रमण
अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा समूहमा बस्ने मानिसहरुमा कोरोना सङ्क्रमण बढेको छ । जनसम्पर्कमा बस्ने मानिसमा सङ्क्रमण निकै बढेको छ । यदि यो अवस्थालाई नियन्त्रण गर्न सकिएन भने अब अस्पतालमा बेड नपाउने तथा समयमा उपचार नपाउने अवस्था समेत आउन सक्ने मन्त्रालयले चेतावनी दिएको छ ।

बाक्लो र अव्यवस्थित बस्ती, संघीय राजधानी तथा आर्थिक क्रियाकलाप धेरै भएको ठाउँ तथा बाहिरबाट मानिसको आउने जाने क्रम अत्याधिक बढेकाले काठमाण्डौ उपत्यकामा जुनसुकै बेला सङ्क्रमण डरलाग्दो हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

लकडाउन सुरु हुनासाथ काठमाण्डौ उपत्यका छाडेर हिँडेकाहरु फर्किने क्रम अहिले निकै बढेको छ । त्यसरी फर्किएकाहरुमा कोरोना सङ्क्रमण देखिन थालेको छ भने सङ्क्रमितसँग सम्पर्क नभएकामा समेत कोरोना पुष्टि भएको छ । यसले गर्दा अब काठमाण्डौ उपत्यका कोरोना महामारीको निकै खतरामा परेको छ ।

‘जुनसुकै बेला नाका बन्द र लकडाउन हुन सक्छ’
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डे काठमाण्डौ उपत्यकामा जुनसुकै बेला नाका बन्द गर्ने वा लकडाउन गर्ने अवस्था आउन सक्ने बताउनुहुन्छ ।

सङ्क्रमण बढेको ठाउँ विशेषमा लकडाउन गर्न सक्ने व्यवस्था रहेको भन्दै निर्देशक पाण्डे भन्नुहुन्छ ‘काठमाण्डौमा सङ्क्रमणको डरलाग्दो लक्षण देखिन थालेको छ, हामी थप परीक्षण र अनुसन्धान गरिरहेका छौं, यदि मानिस आउने क्रम रोकिएन, सङ्क्रमण बढ्दै गयो भने लकडाउन वा नाकाबन्दको निर्णय हुन्छ, यसका लागि सम्वन्धित मन्त्रालयहरुले जोखिमको आँकलन गरी निर्णय लिनेछन् ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि नागरिकको सुरक्षाका लागि सरकारले जुनसुकै उपाय अपनाउने भन्दै पहिलो कुरा हरेक व्यक्ति सचेत हुनुपर्ने बताउनुभयो । काठमाण्डौ उपत्यकाको जनजीवन लकडाउन अघिकै अवस्थामा फर्किन थालेको छ ।

सडकमा हिँड्नेहरुले मास्क कमै मात्र लगाउने गरेका छन् भने व्यक्तिगत दूरीको नियम पनि पालना भएको देखिंदैन । यस्तो अवस्थाले सङ्क्रमणको डर बढेको भन्दै विज्ञहरुले हरेक व्यक्ति सचेत हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया