झापाको अर्जुनधारामा पाँच दिनका लागि लकडाउन

admin

झापा, १८ साउन : झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्रमा लकडाउन गरेको छ ।

नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शनिबार बसेको बैठकले आइतबार बिहानदेखि यही साउन २२ गतेसम्म (पाँच दिनका लागि) बन्दाबन्दी गर्ने निर्णय गरेको हो । यो व्यवस्था संक्रमणका आधारमा थप गर्न सकिने बताइएको छ ।

केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए । उनले सक्रमित व्यक्तिसँग रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर लकडाउन नै गरेको जानकारी दिए ।

उनकाअनुसार लकडाउन अवधिभर निजी तथा भाडाका गाडी, मोटरसाइकलसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । तर सरकारी, बैंक, वित्तीय संस्थालगायतका कार्यालय खुल्नेछन् भने त्यहाँ कार्यरत कर्मचारीले भने संस्थाको परिचयपत्र लगाएर मोटरसाइकल सञ्चालन गर्न पाउने मापदण्ड बनाइएको छ ।

मोटरसाइकल सञ्चालनको अनुमति पाएका व्यक्तिले अन्य व्यक्तिलाई चढाउन भने नपाउने उनले बताए । सङ्घसंस्था तथा वित्तीय कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्यरूपमा मास्क प्रयोग गरी भौतिक दूरी कायम गर्नुपर्ने मापदण्ड तय गरिएको छ ।

नगरपालिका र वडा कार्यालय खुला रहे पनि साविकमा दिइँदै आएका सिफारिसलगायतका सेवा बन्द गरिने नगरप्रमुख प्रशासकीय अधिकृत पङ्कज भुर्तेलले जानकारी दिए । नगर क्षेत्रमा लकडाउन गर्ने भनिए पनि बिहान ८ बजेदेखि ११ बजेसम्म भने सबै प्रकारका व्यापार व्यवसाय भने सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । 

प्रतिक्रिया