कोरोनाका कारण भारत उत्तर प्रदेशकी शिक्षामन्त्रीको ज्यान गयो

admin

काठमाडौं, १८ साउन : भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आइतबार बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आइतबार मात्रै २ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यस्तै ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ ।

भारतको कर्नाटकमा १ सय १० वर्षकी वृद्धा, कोरोना संक्रमणपछि निको भएकी छिन् । गएको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी कर्नाटकको चित्रदुर्गकी १ सय १० वर्षकी वृद्धा निको भएपछि शनिबार डिस्चार्ज गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैबीच भारत सरकारले भेन्टिलेटर निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सहमति जनाउँदै भेन्टिलेटर निर्यातमा लागेको प्रतिबन्ध हटाउने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया