आज उपत्यकामा ३१ सहित थप २४६ जनामा संक्रमण पुष्टि, सरकारले आरडीटी परीक्षण रोक्यो

admin

काठमाडौं, १८ साउन : आइतबार थप दुई सय ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेका छन् ।

आठ हजार आठ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई सय ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमित हुनेको कुल संख्या २० हजार तीन सय ३२ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा एक सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय तीन पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अब पाँच हजार तीन सय ६२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । यस्तै १० हजार नौ सय ३४ जना क्वरेण्टीनमा रहेका छन् ।

सरकारले आरडीटी परीक्षण रोक्यो
सरकारले आरडीटी परीक्षण रोकेको छ । गएको बुधबार सरकारले कोरोना निदानका लागि आरडीटी परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश, पालिका र अस्पतालहरुलाई आग्रह गरेका छन् ।

यस्तै आकस्मिक सेवासहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे । मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको उनले बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । आरडीटी परीक्षण भरपर्दो नभएको भन्दै यसअघि जनसमुदायस्तरबाटै विरोध भइरहेको थियो ।

‘इनफ इज इनफ’ अभियन्ताले पनि आरडीटी परीक्षण राक्नुपर्ने र पीसीआर परीक्षणलाई बढाउनु पर्ने भन्दै प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया