सरकारद्वारा ६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाहिर ननिस्कन आग्रह

admin

काठमाडौं, १८ साउन : कोरोना भाइरसको संक्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं तथा काठमाडौं जस्तै बसोबास बढी भएका क्षेत्रमा जोखिममा पर्ने उमेर समूहका मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताएका छन् ।

नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार
नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट एक जना कोरोना संक्रमितको उपचार गरिएको छ । विराटनगरका ६० वर्षीय संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार संक्रमित पुरुषको गएको बिहीबार प्लाज्मा थेरापी गरिएको थियो । यसअघि नेपालमा कोरोनाको गम्भीर बिरामी नदेखिएको भन्दै प्लाज्मा थेरापी गरिएको थिएन । गएको १० गते आईसीयूमा भर्ना भएका संक्रमितको अवस्था गम्भीर भएपछि प्लाज्मा थेरापी गरिएको थियो ।

अहिले उनी खतरामुक्त रहेका डा. सन्तकुमार दासले बताए । उनलाई केही दिन आइसोलेसनमा राख्ने डा. दासले बताए । कुनै पनि रोगविरुद्ध प्रतिरोधी क्षमता एन्टिबडी विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाइ रोगसँग लड्न सक्ने बनाउनु नै प्लाज्मा थेरापी हो ।

प्लामा मानिसको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । प्लाज्माले शरीरलाई प्रोटिन पुर्‍याउने काम गर्छ । विश्वमा कोरोना संक्रमणका कारण गम्भीर बिरामी परेकाहरुलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिँदै आइएको छ । नेपालमा भने कोरोना संक्रमितमा लक्षण नै नदेखिएकाले यो विधि प्रयोग गरिएको थिएन ।

प्रतिक्रिया