फेरि उही ठाकठुक

admin

काठमाडौं, १९ साउन :
१३ साउनको बैठकलाई हेर्ने सवाल
ओली : तपाईंहरूले १३ गते आयोजना गरेको भेलालाई किन बैठक भन्नुभयो ?

दाहाल : त्यो बैठक नै हो। त्यसले विधिविपरीत स्थायी समिति बैठक स्थगित भएको सूचना तपाईंको तर्फबाट प्रसारित गर्नु उचित थिएन भन्ने निष्कर्ष निकालेको छ।

ओली : म नभएको बेला बैठक बस्ने ? अनि मेराविरुद्ध प्रस्ताव पारित गर्ने ? त्यो बैठक हुनै सक्दैन। त्यसलाई म मान्दिनँ।

दाहाल : तपाईं चाहिँ एक्लै विधिविपरीत बैठक रोक्ने ? अनि बैठक पनि हामीले नगर्ने भन्ने हुन्छ ?

ओली : त्यस्तो हुन्न। त्यसलाई मानिँदैन। तपाईंहरूको गुट बैठक बसेर गरेको निर्णय म मान्दिनँ।

(केहीबेर ठाकठुक)

ओलीको राजीनामाको प्रसंग

प्रचण्ड : मंसिर ४ देखि वैशाख २० सम्मको बैठकका कुरामा कमजोरी स्वीकार गर्ने र रूपान्तरण भएर जाने कुरा थिए। तर त्यो व्यवहारमा देखिएन। विषय फरक ढंगले आयो। अब नेतृत्व बदल्ने कुरा नै सही हुन्छ पार्टी र सरकार बचाउन। दुईमध्ये एक पद छोड्नुस्। स्वेच्छाले छोडिदिनुस्, कुन मन लाग्छ, त्यही। तपाईंले निकास दिनुस्।

ओली : त्यो कुरै नगर्नुस्। मैले अहिले कुनै पद छाड्न मिल्दैन। बरु महाधिवेशन छिटो गरौं। त्यसमा नै छलफल गरौं।

प्रचण्ड : प्रधानमन्त्री छोड्नुस् भन्ने हाम्रो मुख्य करा हो। तर तपाईंलाई त्यो छोडन गाह्रो छ भने दुईमध्ये एक पद छोड्नुस्।

ओली : म कुनै पनि पद छोड्दिनँ। यसमा म अहिले बहस नै गर्न चाहान्नँ। छोड्ने कुरा पनि केही छैन।

अब बैठक के ? स्थायी कि सचिवालय ?

ओली : पार्टी कमिटीबाटै छलफल गर्न म पनि तयार छु। कमिटीबाटै बैठक अगाडि लैजाऔं। छलफल गरौं।

प्रचण्ड : स्थायी कमिटी बैठक एजेन्डामा केन्द्रित रहेर छलफल गर्नका लागि बोलाऔं। विधिमा सहमति जनाऔं। सहमति भए सहमतिको, नभए आ–आफ्नो मत लिएर पार्टी केन्द्रीय कमिटीमा जाऔं। त्यहीं बहुमतले पास गरौं। त्यसपछि महाधिवेशनमा जाऔंला।

ओली : पहिला सचिवालयमा ठोस सहमति भएपछि मात्रै स्थायी र केन्द्रीय कमिटीमा जान सकिन्छ। तर अब त्यो पनि आवश्यक छैन। सचिवालयको साउन ३ को सहमतिअनुसार प्रस्ताव तयार पारौं, खाका बनाऔं। महाधिवेशन गर्ने गरी अगाडि बढौं।

दाहाल : महाधिवेशनमा जाने कुरामा हाम्रो पनि असहमति छैन। तर पहिले तत्कालका लागि तपाईंले निकास दिनुस्।

०००

राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ६ दिन सम्पर्कविहीन भए। त्यो संवादहीनता तोड्दै आइतबार तीन घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा दुवैले पहिलाभन्दा वरिष्ठतम् सहयोगी पनि राखे। अर्थात्, ओलीले सुवास नेम्बाङ र दाहालले झलनाथ खनाल।

छलफल भने ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो। एउटा पदबाट राजीनामा दिनुपर्ने दाहालले जिकिर गरे। त्यसमा कुरै नगर्ने ओलीले अडान कायम राखे। छलफलपछि ब्रिफिङ सुनेका एक नेताका अनुसार ओली र दाहालले अघिपछिको जस्तै मन माझामाझ गरे। आपसका अभिव्यक्तिदेखि आरोप–प्रत्यारोपसम्मका सन्दर्भमा पुरानै शैलीमा छेडखान पनि गरे। पार्टी एकता जोगाउने, पार्टी कमिटीबाटै छलफल गरेर निचोडमा पुग्ने भन्नेमा समेत चर्चा गरे।

तर, मिल्दा के–के विषयमा कसरी सहमति जुटाउने भन्नेमा भने दुवै पुरानै रटानमा अडिए। स्रोत भन्छ– ओली स्थायी समिति बैठक रोकेर सचिवालय बोलाउने मनस्थितिमा थिए। दाहाल भने अवरुद्ध स्थायी समिति बैठक कहिले बोलाउने भन्नेमै केन्द्रित देखिए।एक सचिवालय सदस्यले अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री स्थायी समिति बैठक बोलाउनेतिर देखिनु भएको छैन। केन्द्रीय समिति पनि उचालेर बोलाउन खोजिएको भन्नेमा हुनुहुन्छ। उहाँ सचिवालय बैठक बोलाउने, ३ साउनको प्रस्तावकै आधारमा सचिवालयवाट प्रस्ताव तयार पारेर अगाडि बढाउने गरी जान खोज्नु भएको छ। त्यसमा कुरा बाझिइरहेकै छ।’ साउन १३ मा ओलीले स्थायी समिति बैठक रोक्ने र दाहाल–नेपाल समूहले राख्ने दोहोरीबीच विवाद उत्कर्षमा पुगेको थियो। त्यसयता दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन। तर, दाहाललाई उनी निकट नेताहरूको बैठकले ओलीसँग संवाद गरेर सहमति खोजी गरी स्थायी समिति बैठक बोलाउन म्यान्डेट दिएको थियो।

त्यसयता दुई नेता आइतबार मात्रै संवादमा बसेका थिए। यसबीच दुवै अध्यक्षसँग महासचिव विष्णु पौडेलले दुई चरण र शंकर पोखरेलले दाहालसँग एक चरण छलफल गरेका थिए। त्यसले संवादको वातावरण बनाएको थियो।

बैठकमा १३ साउनमा दाहालको अध्यक्षतामा बालुवाटारमै बसेको बैठकलाई पार्टी बैठक भन्ने कि गुटको भेला भन्नेमा केहीबेर दुई अध्यक्षबीच भनाभन भएको थियो। दाहालले स्वेच्छाले एउटा पदबाट राजीनामा दिन ओलीलाई आइतबार पनि आग्रह गरेका थिए। ओलीले अहिले कुनै पद नछाड्ने बरु महाधिवेशन छिटो गरेर नेतृत्व सहज हस्तान्तरण गर्नै पुरानै कुरामा अड्डी लिएका थिए।बैठक सचिवालय बोलाउने या स्थायी समिति भन्नेमा पनि ओली दाहालका आ–आफ्नै मत थिए। ‘बैठक बस्ने विषयमा सहमति छ। उहाँ (प्रधानमन्त्री) को जोड सचिवालय बोलाउने भन्नेतिर छ। हाम्रो जोड स्थायी समितिको बैठकलाई छलफल गरी टुंग्याऔं भन्नेतिर छ। सहमतिको विकल्प भने छैन’, वरिष्ठ नेता खनालले भने।

नेम्बाङले भने संवाद सुरु भएको र सोमबार फेरि हुने छलफलले सम्भवतः एउटा निकास पहिल्याउने बताए। ‘दुई अध्यक्षको संवाद नै हुन नसकिरहेका बेला संवाद भएको छ। त्यो पनि सौहार्दपूर्ण वातावरणमा छलफल भयो। सबै विषयमा कुराकानी भए। अब झिनामसिना कुरामा नलाग्ने, वार्ता र संवादबाटै सहमति खोज्ने कुरा भएको छ। भोलि (सोमबार) ९ बजे फेरि बस्ने कुरा छ’, नेम्बाङले सञ्चारकर्मीहरूसँग भने, ‘आजै (आइतबार) निष्कर्षमा पुग्ने गरी छलफलमा जुटेका थियौं, अब फेरि भोलि जेरी खाँदै बसेर भरसक टुंग्याउने गरी जान्छ होला।’

दुई अध्यक्षको छलफलमा ओलीले त्यही जगमा टेकेर सहमति खोज्नुपर्ने धारणा राखेका छन्। त्यसो गर्दा प्रधानमन्त्री ओलीका लागि अहिले अनुकूल वातावरण पनि बनेको छ। उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव ओलीका लागि अनुकूल हुने गरी ल्याएका छन्। यसले सचिवालयमा आफ्नो पक्षमा बहुमत पुग्ने ओलीको ठम्याइँ छ। त्यही कारण उनी सचिवालय बैठक चाहन्छन्।

दाहाल–नेपाल पक्षले भने स्थायी समिति बैठक बोलाउने, त्यसमा रहेका पूर्वनिर्धारित एजेन्डामा छलफल गराउने र सहमति भए सहमितको नभए आ–आफ्नो प्रस्ताव केन्द्रीय समितिमा लैजाने गरी जान चाहेको छ। केन्द्रीय समिति बोलाउन १ सय ५२ नेताको हस्ताक्षरसहित लिखित मागपत्र समेत बुझाइसकेको छ। आइतबारको बैठक यिनै विषयमा केन्द्रित भए पनि निचोड निस्कन सकेन। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया