कोरोना विरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने ‘डब्ल्यूएचओ’को भनाइ

admin

काठमाडौं, २० साउन : कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

संगठनका महानिर्देशक डा. टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने बताएका हुन् ।

उनले केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले संक्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा रहेको भन्दै अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको बताए ।

विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन उनले अपिलसमेत गरेका छन् । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वरेण्टीनमा राख्नुको विकल्प नभएको उनको भनाइ छ ।

यसैबीच डा. टेड्रोजले कोरोना भाइरसको संक्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन् । दूधबाट संक्रमण नफैलिने भएकाले स्तनपान जारी राख्न उनले जोड दिए ।

डब्ल्यूएचओका अनुसार अहिलेसम्म विश्वभर एक करोड ८४ लाख भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ लाख ९७ हजारको ज्यान गएको छ । १ करोड १६ लाख भने उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया