काठमाडौं, २३ साउन : करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ ।
विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदातालाई महìवपूर्ण सूचना तत्काल प्रवाह गर्न यस्तो प्रणाली निर्माणको प्रक्रिया अघि बढाइएको हो । ‘कसैको ट्याक्सेसन भयो अथवा कर जम्मा भयो भने त्यसको पनि जानकारी एसएमएसबाटै दिन्छौँ’ उनले भने ।
कस्ता करदातालाई करबारे कस्तो सूचना दिने भन्ने विषयमा विभागले कार्यविधि बनाइरहेको छ । कार्यविधिअनुसार नै सफ्टवेयर प्रणाली विकास गरिने र यही आर्थिक वर्षभित्र एसएमएसबाटै जानकारी उपलब्ध गराउने तयारी भएको महानिर्देशक कुँवरले बताए ।
कर प्रशासन र सूचना प्रवाहलाई प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्य अनुरूप यस्तो सेवा उपलब्ध गराउन लागिएको उनले स्पष्ट पारे । विभागका अनुसार अहिलेसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको सङ्ख्या करिब दुई लाख ५७ हजार छ । त्यस्तै अन्तःशुल्कमाा दर्ता हुने करदाता करिब ९८ हजार छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।