पछिल्लो २४ घण्टामा थपिए ९ सय ८० कोरोना संक्रमित, ९ जनाको मृत्यु

तुलसी नेपाल

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ सय १४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २८ हजार ९ सय ४१ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ८ सय २६ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेहरुको संख्या ४ हजार ७ सय ३ रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेमा दुई महिला र सात पुरुष रहेका छन्।

मोरङका ४५ वर्षीय पुरुष र ६४ वर्षीया महिला, झापाका ४५ वर्षीया महिला, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाण्डौका ७४, ६८ र ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ।

प्रतिक्रिया