बलिवुड अभिनेत्री पायलद्वारा कश्यपमाथि यौन उत्पीडनको आरोप, लाइब्रेरीमा लगेर देखाएका थिए आपत्तिजनक भिडियो

अस्मिता बेल्बासे

एजेन्सी, ४ असोज : पछिल्लो समय बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिवुडमा आरोप-प्रत्यारोप बढिरहेको छ । यसैबीच बलिवुड अभिनेत्री पायल घोषले फिल्म निर्देशक तथा निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् ।

अनुराग कश्यपले यो आरोप आधारहीन भएको भन्दै जवाफ दिएका छन् । यो मामिलामा अभिनेत्री पायलले विस्तृत जानकारी दिएकी छिन् । अभिनेत्री पायलका अनुसार अनुरागले उनलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गर्दथे ।

भारतीय मिडियासँगको कुराकानीमा पायलले सो कुरा जानकारी दिएकी छिन् । उनले आफूले सो कुरा मीटू अभियानका बेला पनि ट्वीटरमा लेखेका बताएकी छिन् । तर, पछि उनले आफ्नो उक्त ट्वीट डिलिट गरेको पनि बताइन् ।

अभिनेत्री पायलले भनिन्, ‘हाल म आफ्नो परिवारको समर्थनको आशा गरिरहेकी छु । त्यसपछि म एजेन्सीलाई सम्पर्क गर्नेछु । यदि अनुरागले माफी मागेको भए, म उनलाई माफी दिन्थेँ । म इन्डष्ट्रिबाट पनि समर्थन होस् भन्ने चाहन्छु ।’

पायलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीट गरेर लेखेकी थिइन्, ‘अनुराग कश्यप निकै नराम्रो गरी मलाई दबाब दिए । नरेन्द्र मोदीजी कृपया एक्सन लिनुहोस् र यी सृजनात्मक व्यक्ति पछाडिको राक्षसलाई उदाङ्गो पारिदिनुहोस् । मलाई थाहा छ, यसले मलाई क्षती पुर्‍याउन सक्छ । मेरो सुरक्षा खतरामा छ । कृपया मद्दत गर्नुहोस् ।’

पायलको यो ट्वीटलाई अभिनेत्री कङ्गना रनावतले रिट्वीट गर्दै मीटू ह्याशट्याग लगाउँदै लेखेकी छिन्, ‘सबै आवाजले उत्तिकै महत्त्व राख्छ । अनुराग कश्यपलाई पक्राउ गर ।’ पायल घोषको यो ट्वीटलाई रिट्वीट गर्दै राष्ट्रीय महिला आयोगकी अध्यक्ष रेखा शर्माले पूरै घटनाको जानकारी मागेकी छिन् ।

यसै विषयमा अनुराग कश्यपले मध्यरात साढे १२ बजेतिर चार वटा ट्वीट गरेका छन् । उनले ट्वीटमा आफूमाथि लागेको आरोप तथ्यहीन भएको बताएका छन् ।

प्रतिक्रिया