लकडाउनको मौका छोपेर चीनले नेपाली भुमि मिच्यो, प्रमाणसहित हुम्लाकै सांसदले गरिन् पर्दाफास (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, १४ असोज : प्रमुख विपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले हुम्लामा चीनले नेपालको भूभाग मिचेको बताउँदै आएकी छिन् । ‘हामीलाई निहुँ खोज्नु छैन, हाम्रो हो भने देउ, हाम्रो होइन भने हामी लुट्न जानु त छैन नि !’ दिनभरी हाम्रो सरकार राष्ट्रवादी, रातभरि चिनियाँलाई पुज्ने ? पीएनपी खबरसँगको अन्तर्वार्तामा सांसद शाहीले सीमा मिचेको विषयलाई जोडदार विरोध गर्ने र आफ्नो भूमि मिचिएकोमा चुप लागेर नबस्ने बताइन् ।

यसैसन्दर्भमा उनले हुम्लाको चीनसँगको सीमाका सन्दर्भमा चीनले नेपाली भूमि मिचेको विषय रहस्यमय बन्दै गएको बताएकी छिन् । ‘चीनले हुम्लामा नेपालको भूभाग मिचेकै हो । उनले भनिन्, चीनले नेपाली भूमि मिचेको विषय रहस्यमय बन्दै छ । हुम्लाको लाप्चामा जानअञ्जान सीमा अतिक्रमण भएकै हो ।,’

‘त्यो भूमि परम्परादेखि नै स्थानीयबासीले चरण क्षेत्रको रूपमा प्रयोग गर्दै आएको हो । त्यसैले त्यो भूमि नेपालको हो भन्नेमा कुनै शंका छैन ।,’ चिनले नेपालको भूमि मिचेको हो, दावाको साथ भन्न सक्ने उनको भनाइ छ ।

सांसद शाहीका अनुसार त्यहाँका स्थानीबासीले त्यो भूभाग आफ्नो भएको बताएका छन् । सांसद शाही आफू त्यस क्षेत्रमा नगएकी पनि सबै स्थानीयबासी, जनप्रतिनिधिहरूसँग बुझ्दा चीनले भूमि अतिक्रमण गरेको वास्तविकता बुझेको बताएकी छिन् ।

सरकारले सीमा मिचिएको छैन भन्दै छ, स्थानीयबासीले मिचेको छ भन्छन्, हुम्लाको सीमाको विषयमा उनले भनिन्, ‘चीनले सीमा मिचेको हो । पहिले चीन पछि हट्नु, अहिले नौवटा भवन बनाउनुले पनि चीनले सीमा मिचेको देखिन्छ । यता, सरकारले होइन, भन्नु, स्थानीयबासीले विरोध गर्नु । यी सबै घटनाक्रमले सरकारको मिलोमतोमा चीनले सीमा मिचेको अनुमान लगाउन सकिन्छ ।’

२०६६ सालमा नेपाली पक्षले हुम्लाको लिमि ल्याप्चेबाट चीनको बोर्डरसम्म सडक बनाएको बताउँदै उनले त्यसबेला लोलुमजुङ क्षेत्रमा चीनले दुईवटा भवन बनाएको स्पष्ट परिन् । २०६६ सालमा नेपाली पक्षले त्यो भूमि हाम्रो हो भनेपछि चिनियाँ पक्ष हटेको हो, तर अहिले चिनियाँ पक्षले आँट गरेको छ । किन आँट गर्‍यो ? यो विषय गम्भीर रहेको उनले बताएकी छिन् ।

चीनको सीमाभन्दा एक किलोमिटरयतासम्म अतिक्रमण गरेको उनको बुझाई छ । त्यस क्षेत्रमा पिलर पहिलेदेखि नै नराखिएकाले अहिले यो समस्य आएको बताइन् । अहिले भेटियो भनिएको ११ नम्बर पिलर पहिलेदेखि नै राखिएको बताइन् ।

उनले भनिन्, ‘सडक बनाउने बेला स्थानीयबासीले चीनले भवन बनाएकोमा विरोध गरे । उनीहरूको विरोधपछि उनीहरू पछि हटे, तर अहिले चीनले फेरि त्यही क्षेत्रमा नौवटा भवन बनाएको छ । ती भवन पनि व्यवस्थित किसिमबाट बनाइएको छ । चीनले नेपालको भूमि कब्जा गरेको छ ।’

‘त्यस क्षेत्रमा २०६६ सालमा नेपाली पक्षले डोजर चलाएको हो । २०६६ सालअघिसम्म नेपालीहरूले डोजर चलाएको ठाउँमा अहिले चीनले भवन बनाएको छ । २०६६ अघिसम्म नेपालीहरूले डोजर चलाएको ठाउँ अहिले कसरी चीनको भूभाग हुन्छ ?’

उनले सिडिओको नेतृत्वमा टोलीले तयार गरेको प्रतिवेदन गोप्य राखिएको बताएकी छिन् । उनले अन्तर्वार्तामा बेल्दै भनिन्, ‘त्यसैले म ठोकुवा गरेर भन्छु, यहाँ धेरै कुरा रहस्यमय छ । लिमि क्षेत्रमा पुगेको नेपाली टोलीहरूसँग न नक्सा छ । उनीहरूसँग भाषा बुझ्ने मान्छेहरू पनि छैनन् । भाषा बुझ्ने मान्छे नभई कसरी यथार्थ थाहा हुन्छ ?’

सांसद शाहीले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएकी छिन् । ‘स्थानीय तहमा वार्ता टिम बनाएर हुँदैन । राष्ट्रियस्तरबाटै गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भूमिसुधार मन्त्रालय, नक्सासम्बन्धी बुझ्ने प्राविधिक तथा जनप्रतिनिधिलाई राखेर वास्तवमा के हो भन्ने त्यो थाहा पाउनुपर्‍यो । उनीहरूले भूमि मिचेका हुन् भने त्यो फिर्ता ल्याउनुपर्‍यो ।’

उनले भनिन्, ‘चीनले भूमि मिचेको ठाउँ लोलुमजुङ हो । तर विना तयारी नेपाली पक्षको टोली त्यस क्षेत्रमा प्रचारका लागि मात्र पुगेको छ । हुम्लाका सिडिओले जिपिएसबाट नापेर त्यो भूमि चीनको हो भनेर कसरी भन्नुभयो ? कसरी उहाँले थाहा पाउनुभयो ? त्यसैले म ठोकुवा गरेर भन्छु, यहाँ धेरै कुरा रहस्यमय छ ।’

परम्परादेखि नै त्यहाँ लिमिबासीहरूको चरण गर्ने पाटन क्षेत्र भएकाले त्यो ठाउँबाट कैलाश मानसरोवर देखिने र त्यहाँबाट मान्छेहरूले कैलाश मानसरोवर हेरेर ढोग्ने गरेको बताउँदै, त्यो कुरा चिनियाँहरूले पत्ता लगाए र त्यो भूमिलाई आफ्नो भएको दाबी गर्न सुरु गरेको सांसद शाही बताउँछिन् । चीनले कब्जा गर्नुअघिसम्म नेपालीहरूले त्यस क्षेत्रलाई चरणको रूपमा प्रयोग गर्दै आएको उनले बताइन् ।

बाँकी भिडियोमा हेर्नुस् ।

यसैगरी सांसद शाहीले सोमबार मन्त्रालय पुगेर चिनियाँ पक्षसँग वार्ताको पहलका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ध्यानाकर्षण प्रस्ताव पनि बुझाएकी छिन् ।

परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, नेपाली सेना, विज्ञको टोली र स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासीसहितको संयुक्त टोली बनाई नेपालको भूमि फिर्ता गर्नका लागि तुरुन्त चिनियाँ पक्षसँग वार्ता तथा संवाद गर्न उनले प्रस्तावमार्फत माग गरेकी छिन् ।

‘हुम्ला जिल्लाको नाम्खा गाउँपालिका- ६ लिमीलाप्चा क्षेत्रको लिमीलाप्चा सडकखण्ड विसं ०६६ मा नेपालले ग्याक्पुदोचामा निर्माण गरेको थियो । नेपालले सडक निर्माण गरेपश्चात् वि.सं. ०७३ तिर चीनले ग्याक्पुदोचाबाट करिब ३ किलोमिटर नेपालपट्टिको ललुङ्जोङ भन्ने स्थानमा दुईवटा भवन निर्माण गर्‍यो । लिमीवासीले विरोध गरेपछि चिनियाँ पक्ष पछि हटेको थियो ।’

‘हाल लकडाउनको समयमा चीनले फेरि सोही स्थान ललुङ्जोङमा सुविधा सम्पन्न नौवटा भवन निर्माण गरेको छ । उक्त भवनहरू भएको स्थानभन्दा करिब डेढ किलोमिटर वरै नेपालपट्टि हाम्रो भूमिलाई आफ्नो भनी दाबी गरेका छन् । यदि ग्याक्पुदोचा, ललुङ्जोङ चिनियाँ पक्षको हो भने तत्कालीन समयमा नेपाललाई ग्याक्पुदोचासम्म सडक निर्माण गर्न चीनले कसरी दियो ? यस विषयमा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु,’ प्रस्तावमा भनिएको छ।

प्रतिक्रिया