काठमाडौं, १५ असोज : नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७९ हजार सात सय २८ पुगेको छ । बितेको २४ घण्टामा एक हजार नौ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार चार सय ४४ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ११ जनामा संक्रमण देखिएको हो । त्यस्तै बितेको २४ घण्टामा नौ सय ६१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५७ हजार तीन सय ८९ पुगेको छ ।
अब नेपालमा २१ हजार आठ सय ३० जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार ७७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच सय नौ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।