काठमाडौं, १६ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबारका लागि बोलाइएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा शनिबार दिउँसो ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भइरहँदा सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरि मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।
यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष दाहालसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्तिसम्बन्धी महत्त्वपूर्ण निर्णय एकलौटी गरेको भन्दै नेताहरु असन्तुष्ट भएका हुन् ।