कोरोनाको खोप प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न नसक्ने वैज्ञानिकद्वारा चेतावनी

अस्मिता बेल्बासे

एजेन्सी, १६ असोज : कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप पत्ता लागेर प्रयोगमा आए पनि आउँदो वसन्तमा जनजीवन सामान्य बन्न नसक्ने वैज्ञानिकले चेतावनी दिएका छन् । खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने वैज्ञानिकहरुले बताएका बीबीसीले जनाएको छ ।

रोयल सोसाइटीको डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकले खोप तत्काल उपलब्ध नहुनेतर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको बताएका छन् । इम्पेरियल कलेज लण्डनका नेशनल हार्ट एण्ड लङ्ग इन्स्टिच्युटका डा. फियोना कुलीका अनुसार, ‘खोप भन्नेबित्तिकै हामीलाई के लाग्छ भने महामारी समाप्त भइ हाल्छ तर खोपको विकासका क्रममा कैयौँ पटक विफलता भोग्नुपरेको छ ।’

इम्पेरियल कलेज लण्डनको केमिकल इन्जिनियरिङका प्रमुख प्रोफेसर निलय शाह भन्छन्, ‘यदि खोप उपलब्ध भए पनि एक महिनाभित्रमा नै सबैलाई खोप लगाउन पाउँछन् भन्ने पनि होइन । यसमा ६ महिना पनि लाग्न सक्छ, नौ महिना र एक वर्ष पनि लाग्न सक्छ ।’ ‘यसरी हेर्दा पनि आउँदो मार्चसम्म जनजीवन एकाएक पहिलेको जस्तै सामान्य हुन्छ भनेर भन्न सकिँदैनु, उनले भने । वैज्ञानिकहरुले यस दिशामा अझै पनि धेरै चुनौतीहरु रहेको बताएका छन् ।

यद्यपि केही प्रायोगिक तरिकाहरु पनि अपनाइएको छ । ठूलो मात्रामा आरएनए खोप बनाइँदै छ, जो यसअघि कहिले पनि गरिएको थिएन । खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागू गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्न उनीहरुको सुझाव छ । अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागेका छन् ।

२०० भन्दा बढी खोप निर्माणको चरणमा रहेका र त्यसमध्ये ४० भन्दा बढी खोप मानवीय परीक्षणको विभिन्न चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर खोप पत्ता लागेर प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा फर्किन नसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका हुन् ।

प्रतिक्रिया