डाक्टर तथा स्वास्थ्यकर्मी संक्रमित भए सम्पूर्ण खर्च सरकारले व्यहोर्नुपर्ने

admin

काठमाडौं, १६ असोज : नेपाल चिकित्सक सङ्घले कोरोनाबाट डाक्टर तथा स्वास्थ्यकर्मी संक्रमित भए त्यसको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै सङ्घले कोरोना उपचारमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मी संक्रमित भए सबै खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेको हो ।

सङ्घले काठमाडौंबाहिर कोरोना उपचारमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई संक्रमण देखिए तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याउने व्यवस्था गर्न पनि माग गरेको छ ।

यस्तै सङ्घले कोरोना भाइरसको संक्रमणबाट डाक्टरको ज्यान गएमा एक करोड रुपैयाँसम्म बीमा रकम पाउने सुनिश्चितता गर्न पनि सरकारसँग माग गरेको छ । यस्तै नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख गरिएका औषधिको पनि तत्काल व्यवस्थापन गर्न माग गरिएको छ ।

बिहीबार डाक्टर हरि सापकोटाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएपछि डाक्टर तथा स्वास्थ्यकर्मी त्रसित भएकाले आर्थिक सहायताका लागि पनि बीमाङ्क सुनिश्चित गर्न माग गरिएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया