म्याद नाघेका खाद्यवस्तुमा नयाँ मिति राखेर बजारमा, पाँच करोड मूल्य बराबरका खाद्यवस्तु बरामद

admin

काठमाडौं, १९ असोज : म्याद नाघेका खाद्यवस्तुमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको भेटिएको छ । लकडाउनका बेला नबिकेका सामानमा चाडबाड नजिकिएसँगै नयाँ मिति राखेर पठाउने गरेको पाइएको हो ।

पुरानो तथा खान नमिल्ने भइसकेको खाद्यवस्तुमा नयाँ मिति राख्ने काममा सक्रिय केही व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कलङ्कीबाट झण्डै पाँच करोड मूल्य बराबरका त्यस्ता खाद्यवस्तु बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए ।

मिति सकिएको खाद्यवस्तुलाई नयाँ मिति लगाएर बजार पठाउने तयारी गर्दै गर्दा भण्डारबाटै चार जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले बताए । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कलङ्कीबाट पक्राउ गरेको हो ।

उनीहरुले लकडाउनका बेला नबिकेका सामानमा मिति सच्याएर बजारमा पठाउने तयारी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको साथबाट स्टिकर, छाप र छाप लगाउने मेसिनसमेत बरामद गरिएको छ ।

उनीहरूले चकलेट, बिस्कुट, आँटा, मैदा, तेल, चामल, दाललगायतमा मिति सच्याएको पाइएको छ । यसअघि वाणिज्य विभागले केही व्यवसायीलाई पक्राउ गरेको थियो । यस्ता गतिविधि बजारमा देखिएकाले निगरानी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया