डा. केसी अनसन बसेको २३ दिन : मेडिकल कलेजका आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार

admin

काठमाडौं, २० असोज : तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकले (आज) मंगलबारदेखि बहिरंग अर्थात ओपीडी सेवा बहिष्कार गरेका छन् ।

डा. गोविन्द केसी अनसन बसेको २३ दिन भइसक्दा पनि सरकारले वार्ता टोलीसमेत गठन नगरेकाले बाध्य भएर ओपीडी सेवा बहिस्कार गर्नुपरेको आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुभाष देवकोटाले बताएका छन् ।

चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले मंगलबारदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् ।

संघले डा. केसीसँग वार्ता गर्नको लागि टोली गठनको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । बहिरंग सेवा बहिष्कार गरेपनि कोरोना, आकस्मिक र भर्ना भएका बिरामीको उपचारमा भने कालोपट्टि बाँधेर सामेल हुने डा. देवकोटाको भनाइ छ ।

संघले डा. केसी अनसन बसेको १३ औं दिनदेखि कालोपट्टि बाँधेर काम गरिरहेको छ । यसैबीच त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । आईसीयूमा राख्नुपर्ने अवस्था भए पनि डा. केसी नमान्दा अक्सिजन दिएर उनलाई राखिएको छ।

प्रतिक्रिया