दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ : प्रवक्ता ज्ञवाली

admin

काठमाडौं, २१ असोज : सरकारले यो दशैँमा सकेसम्म सहरबाट गाउँ नजान अनुरोध गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं उपत्यकामा बसोबास गर्नेलाई उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता ज्ञवालीले अवस्था अत्यन्तै संवेदनशिल भएको बेलामा चाडबाड मनाउन गाउँ जानु जोखिमपूर्ण रहेको बताएका हुन् ।

चालीस लाख जनसंख्या भएको काठमाडौंमा संक्रमण बढ्यो भने संकटको अवस्था आउने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे । उनले दसैँ नजिकै आएकोले काठमाडौंबाट गाउँ जाँदा-आउँदा कोरोना संक्रमणपनि संगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउन आग्रह गरे ।

उनले भने-‘काठमाडौं अझै उच्च जोखिममा छ । चाडपर्व आउँदैछ । हामी स्वस्थ रह्यौँ भने फेरि दसैँ मनाउन सक्छौँ । यतिबेला सबैभन्दा उच्च जोखिममा जेष्ठ नागरिक रहेकोले दसैँ मनाउँदा जेष्ठ नागरिकलाई जोगाउनुपर्नेछ । काठमाडौंबाट गाउँ जाँदा आउँदा संक्रमण पनि सँगै जाने गर्छ । स्वास्थ्य मन्त्रालयको रिर्पोट अनुसार ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक उच्च जोखिममा रहेकोले सचेत रहन आवश्यक छ ।’

मन्त्री ज्ञवालीले यो वर्षको दसैँमा आर्शिवाद बचाउन आग्रह गरे । ‘आशीर्वाद पछिसम्म पनि चाहिन्छ, त्यसैले यो वर्षको चाडबाडमा आशीर्वाद बचाऔँ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने । आर्शिवाद दिने जेष्ठ नागरिक आफन्तबाट टाढैबाट आर्शिवाद लिन र अर्को दसैंमा आशीर्वाद लिनका लागि उनीहरुलाई संक्रमणबाट जोगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया