काठमाडौं, २१ असोज : पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार सात पुगेको छ ।
अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा कोरोना संक्रमण भएकोमा ६८ हजार ६ सय ६८ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हो । यसैगरी बुधबार संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ११२६ जना निको भएपछि निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ। यस्तै बुधबार १५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या पाँच सय ७८ पुगेको छ ।
सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन ।