चितवन, २३ असोज : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मृत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो । विज्ञलाई अध्ययनमा सहभागी गराइने छ । निकुञ्जको पश्चिमी क्षेत्रमा बढी गैंडा मरेपछि अध्ययन त्यस क्षेत्रमा केन्द्रीत हुनेछ ।
उनका अनुसार प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि न्यूनीकरणका लागि गर्न सकिने उपायको खोजी गरिने छ । कहिलेदेखि अध्ययन थाल्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । गएको दुई महिना नपुग्दै चोरी सिकारीबाट एउटा र प्राकृतिक कारणबाट सात वटा गैंडा मरेपछि निकुञ्जले अध्ययन गर्न लागेको हो ।
अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए भने गएको आवमा यो संख्या २६ रहेको थियो । मुख्यरुपमा गैंडा बाढीले बगाएर, दलदलमा फसेर, एक अर्कोसँग जुधेर मर्ने गरेका छन् । बाढीले बगाएका गैंडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ ।
नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेको छन् । नदीले बगाएका गैंडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए । विभागले यसअघि पनि गैंडाको प्राकृतिक मृत्युदरबारे अध्ययन गरेको थियो ।
निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार चालु आवको साउन २७ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा सात गैंडा प्राकृतिक कारणले र एउटा गैंडा तस्करले मारेका छन् । उनका अनुसार साउन २७ गते राप्ती नदी किनारको अन्द्रौलीघाटमा २० वर्षको पोेथी गैंडा मृत फेला परेको थियो ।
त्यस गैंडा भालेको आक्रमणबाट मृत्यु भएको हो । भदौ ६ गते राप्ती किनारको जोतुवाघाटमा दलदलमा फसेर सात वर्षको पोथीको मृत्यु भएको थियो । यस्तै भदौ २१ गते बाँदरझुला टापुमा २५-३० वर्षको भाले गैंडा तस्करले मारेका छन् । त्यस गैंडाको टाउकोमा हतियारले प्रहार गरेको घाउ देखिएको थियो तर खाग, खुर भने सुरक्षित रहेका थिए ।
असोज १६ गते टापु क्षेत्रको सेरावा घोलमा कुहिएको अवस्थामा वृद्ध गैंडा मृत फेला परेको छ । त्यस गैंडाको लिङ्ग र उमेरसमेत पहिचान हुन नसकेको सूचना अधिकारी रामले जानकारी दिए । यस्तै असोज १७ गते त्रिवेणीमा रहेको गण्डक नहरमा मृत गैंडा भेटिएको थियो । पैँतीस वर्षको पोथी गैंडा नारायणी नदी पार गर्ने क्रममा नदीले बगाएको उनले जानकारी दिए ।
यसैगरी असोज १९ गते एकै दिन दुई गैंडा मृत फेला परेका थिए । एउटा वयस्क पोथी वाल्मीकि गण्डक नहरमा खसेर मरेको थियो । त्यस गैंडालाई नारायणीले बगाएको अनुमान गरिएको छ । अर्को १०-१२ वर्षको भाले सौराहा क्षेत्रको वनकट्टा घाँसे मैदानमा त्यही दिन मृत फेला परेको थियो ।
भिरालो जमिनमा लडेर त्यस गैंडा मरेको हो । असोज २१ गते नारायणी नदी छेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैंडा मृत फेला परेको थियो । गैंडा नारायणी नदीले बगाएको हो । यस अवधिमा मरेका गैंडामध्ये चार वटा बाढीकै कारण मरेका हुन् ।