प्रधानमन्त्री ओलीले समय नदिँदा, सरकार र डा. केसी पक्षको वार्ता अनिश्चित

admin

काठमाडौं, २३ असोज : सरकारी टोली र डाक्टर गोविन्द केसी पक्षबीच शुक्रबार हुने भनिएको वार्ताका लागि समय नतोक्दा अनिश्चित बनेको छ । बिहीबारको वार्ता सकारात्मक भनिए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । शुक्रबार फेरि बस्ने गरी बिहीबारको वार्ता सकिएको थियो ।

डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार शुक्रबार सरकारी टोलीसँग वार्ताका विषयमा कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्नुपर्ने जवाफ आएको छ । तर प्रधानमन्त्री ओलीले समय नदिँदा वार्ता अन्योल भएको सुवेदीले बताए ।

सरकारी टोलीले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन । डा. केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै डा. केसीका समर्थक र नेपाल चिकित्सक सङ्घले आन्दोलनको तयारी थालेका छन् ।

सरकारले वार्ताका लागि टोली गठन गरेपछि चिकित्सक सङ्घले आन्दोलन रोकेको थियो । डा. केसी अनशनमा बसेको शुक्रबार २६ दिन भएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रतिक्रिया