सर्लाही र रौतहटमा ‘डिजे साउण्ड सिस्टम’ माथि प्रतिबन्ध

admin

सर्लाही, २३ असोज : सर्लाही र रौतहट जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षीय बैठक तथा स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकले जिल्लाभित्र डिजे साउण्ड प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

जिल्लाभित्र हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको भन्दै जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रभित्र सो सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

यस्ता साउण्ड सिस्टमले दुर्घटनासमेत बढाउने भएकाले जिल्लाका कुनै पनि स्थानमा यस्तो स्पिकर राख्न नदिन स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उक्त आदेशको बर्खिलाप गरेको पाइएमा सो सिस्टम जफत गर्नाका साथै प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

ठूलो स्वारमा डिजे साउण्ड सिस्टम बजाउने र अस्लील खालमा गीत संगीत बजाउने गर्दा समाजमा विकृति फैलदै गएकाले बाध्य भएर यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताए । 

यस्तै, जिल्ला प्रशासन कार्यालय रौतहटले पनि चर्को स्वरमा बजाइने गरिने डिजे साउण्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आदेश जारी गरी कुनै पनि कार्यक्रममा डिजे बजाउन प्रतिबन्ध लगाएका हुन् ।

रौतहटमा धार्मिक, सामाजिक एवम् राजनीतिक लगायतका कार्यक्रममा चर्को स्वरमा डिजे बजाइँदा ध्वनि प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सदभावमा प्रतिकूल असर परेको र त्यसबाट दुर्घटना समेत निम्तिएकाले यस्तो कदम चालिएको प्रजिअ यादवको आदेशमा उल्लेख छ ।

डिजे साउण्ड सिस्टमले शान्ति सुरक्षा भङ्ग हुने, समुदायमा बाधा विरोध र जनस्वास्थ्यमा गम्भीर असर हुने जिप्रका रौतहटको निष्कर्ष रहेकाले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख छ ।

जिल्ला सुरक्षा समिती, जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बसेको संयुक्त बैठकले पनि रौतहट जिल्लाभित्र डिजे साउण्ड सिस्टम बन्देज गर्न सिफारिस गरेको थियो । प्रतिबन्ध लगाएपछि पनि डिजे साउण्ड सिस्टमको प्रयोग गरे सिस्टम जफत गरी कानुनी कारवाही गरिने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया