आइसोलेशनमा नबसे ६ महिना जेल राख्ने सरकारको चेतावनी

admin

काठमाडौं, २३ असोज : सरकारले कोरोना संक्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेल अनिवार्य क्वरेण्टीनमा बस्न आग्रह गरेका छन् ।

नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. गौतमले कतिपय संक्रमित आइसोलेशनमा नबसेर बाहिर निस्किएको वा काममा समेत जाने गरेको सूचना आएको भन्दै त्यस्ता व्यक्तिलाई पक्राउ गरी संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले पक्राउ गरी कारबाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिसकेको भन्दै प्रवक्ता गौतमले कोरोना संक्रमित भएको व्यक्ति आइसोलेशनमा बसे र नबसेको बारेमा जानकारी लिन छिमेकीहरुलाई आग्रह गरे ।

एक जना संक्रमित बाहिर निस्कँदा अरु धेरैलाई संक्रमणको जोखिम हुने भएकोले संक्रमित व्यक्ति स्वयं सचेत हुनुपर्ने र व्यक्तिले लापर्वाही गरेमा परिवारका सदस्य तथा छिमेकीहरुले प्रहरीलाई खबर गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया