लुम्बिनी प्रदेशका सभामुखलाई पनि कोरोना संक्रमण

admin

बुटवल : लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना पाजेटिभ देखिएको प्रदेश सभा सचिवालयले पुष्टि गरेको छ।

बिहीबारदेखि ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान द्रुत स्वाब परीक्षणमार्फत उनको पिसिआर जाँचिएको थियो। कोरोना पुष्टि भएपछि उनी सरकारी निवासको आइसोलेसनमा बसेका छन्। स्वास्थ्यमा थप समस्या देखिए मात्रै अस्पताल जाने बताइएको छ।

यसअघि आज बिहानै गरेको कोरोना परीक्षणमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। सभामुख र मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशका अन्य हाई प्रोफाइलका व्यक्ति पनि जोखिममा परेका छन्।

गत मंगलबार मात्रै प्रदेश सभा बैठकमा सहभागी भएका सभामुख घर्ती र मन्त्री केसीलाई संक्रमण भएपछि अन्यमा पनि संक्रमणको जोखिम बढेको छ। बैठकमा मुख्यमन्त्री शंकर पोखरेल लगायत सरकारका मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरु समेत सहभागी थिए।

प्रतिक्रिया