मार्तडी-कोल्टी सडक तीन महिनापछि सञ्चालनमा आयो

admin

बाजुरा, २५ असोज : तीन महिनादेखि बन्द मार्तडी–कोल्टी सडक आइतबारदेखि सञ्चालनमा आएको छ । मार्तडी-कोल्टी सडक अन्र्तगत कोल्टीबाट बडीमालिका नगरपालिका ७ को ढम्कनेसम्मको सडक मर्मत भएपछि आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।

असारको पहिलो हप्तादेखि बन्द भएको सडक सञ्चालन नहुँदा हुम्ला, मुगु र बाजुराका पूर्वोत्तर क्षेत्रका नागरिकले सास्ती व्यहोर्नुपरेको थियो । सदरमुकाम मार्तडीदेखी कोल्टीसम्मको जम्मा ४० किलोमिटर सडकको बीचमा पर्ने चार वटा खोलामा पुल बनाउनका लागि अहिलेसम्म कुनै सुरसार नभएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार गाडी दिनमा चार ठाउँमा खोलामा हाल्नुपर्ने बाध्यता छ । गाडी बिग्रेर हैरान हुन्छ, कमाएको रकमले गाडी बनाउँदै ठिक हुन्छ । घर चलाउन र बैंकको ब्याज र्तिन समस्या भएको उनीहरु बताउँछन् । यस्तै सडक मर्मत गर्नको लागि ठूलो सकस हुने गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी बताउँछन् ।

‘पछिल्लो समय कोल्टी-मार्तडी सडक खोल्नका लागि पहल गरियो, अहिले गाडी नियमित सञ्चालनमा आएका छन्, उनले भने, पानी नपरुञ्जेलसम्म सडक सञ्चालन हुने गरेको छ । साना सवारी साधन र दशैँमा आवश्यक पर्ने दैनिक उपभोग्य सामानहरु समयमा जाने भएको छ ।’

सडक सञ्चालनमा आएसँगै नजिकिँदै गरेको चाडपर्वमा घर आउनेहरुका लागि सहज भएको छ । दशैँ, तिहारका सम्बन्धमा भाडा निर्धारण गरिएको र त्यसको कार्यान्वयनका लागि प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रतिक्रिया