भरतपुरका वडाध्यक्षको कोरोनाबाट ज्यान गयो

admin

चितवन, २५ असोज : चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भरतपुर महानगरपालिका २० का अध्यक्षको ज्यान गएको छ । भरतपुर अस्पतालमा उपचाररत वडाध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको आइतबार बिहान ज्यान गएको अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले जानकारी दिएका छन् ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि वडाध्यक्ष तामाङलाई असोज २३ गते अस्पतालमा भर्ना गरिएको थियो । उनमा असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको ज्यान गएको हो । उनको निधनप्रति भरतपुर महानगरपालिकाले शोक व्यक्त गरेको छ । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवङ्गत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् ।

उनको सम्मानमा सोमबार एकदिन भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द रहने शोक वक्तव्यमा उल्लेख छ । अध्यक्ष तामाङ २०७४ को पालिका चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया