डा. भट्टराईको अभिव्यक्तिमा कांग्रेसको गम्भीर ध्यानाकर्षण, बूढीगण्डकीमा भ्रष्टाचारको आरोप पुष्टि गर्नुस्

admin

काठमाडौं, २५ असोज : नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा नेता डा. बाबुराम भट्टराईको अभिव्यक्तिमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरी प्रमाणको दाबा पुष्टि गर्न चुनौतीसहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील गरेका हुन् ।

डा. भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा बूढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार बताएका थिए ।

नेता भट्टराईको यो भनाइप्रति आपत्ति जनाउँदै कांग्रेसले आइतबार प्रेस विज्ञप्ति निकाल्दै त्यो आरोप पुष्टि गर्न चुनौती दिएको छ । ‘बुढिगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेको भनेर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा वर्तमान सरकार बनेपछि बूढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पिन तयार भएकोप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा नै कडा विरोध गर्दै आएको बताइएको छ । डा. भट्टराई बुढीगण्डकीबारे ज्वलन्त प्रश्नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेको कांग्रेसले जनाएको छ ।

हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा नभएको विज्ञप्तिमा भनिएको छ । तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु आफ्नो कर्तव्य हुन जाने कांग्रेसले जनाएको छ ।

‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ, तथ्यको जगमा सत्यको खोजी नगरि केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुन सक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान सरकार बनेपछि बुढिगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति कांग्रेसले सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको प्रवक्ता शर्माले बताएका छन् ।

प्रतिक्रिया