चौबिस उद्योग विरुद्ध मुद्दा दर्ता

admin

काठमाडौं, २६ असोज : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिव्रता दिएको छ । चाडबाड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिएको हो । 

विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिएका छन् । तत्कालै गुनासो सुन्न तयार पारिएको समुह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकामा एक पानी उद्योग अनुमतिबिना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ ।

खाद्य ऐन विपरीत रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए । उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ ठाउँका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो ।

त्यसमध्ये खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धी १५५ गरी ४३३ नमुना सङ्कलन भएको थियो । परीक्षणका क्रममा १४ वटा नमुना प्रतिकूल देखिएकाले कारबाही गरिएको छ । अन्य अनुसन्धानकै क्रममा रहेको जनाइएको छ ।

विभागअन्तर्गत देशमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयातरनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रहेको छ । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ । कोभिड-१९ का कारण पिउने पानी, दूध तथा दानाको अनुगमन गरिएको थियो ।

अहिले भने चाडबाड केन्द्रीत अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले जनाएको छ । मातहतका कार्यालयलाई समेत अनुगमनलाई तिव्रता दिन निर्देशन दिइएको छ । यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमुना सङ्कलन भएको थियो । दुई वटा नमुना प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया अघि बढेको जनाइएको छ ।

अन्य नमुना विश्लेषणको क्रममा छ । सात दूग्ध उद्योगमा अनुगमन भएकोमा छ वटाको नमुना सङ्कलन भएको छ । खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकोमा ३४ नमुना सङ्कलन गरिएको र एउटा प्रतिकूल देखिएकाले कारबाही प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।

विभागले चाडबाडको विदाको समयमा पनि गुनासो सुन्ने भएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत सञ्चालन गरिने विभागले एक सूचनामार्फत जानकारी दिएको छ । त्यसका लागि सम्पर्क व्यक्ति समेत तोकिएको छ । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तिव्रता दिइएको सहप्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया