सस्तोमा उडान भर्दै एअर अरेबीयाले आबुधाबी काठमाडौं, भाडा कति ?

admin

काठमाडौं, २७ असोज एअर अरेबीयाले आबुधाबी काठमाडौं सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ । एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो ।

एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात यो समाचार तयार पार्दाको विनिमय दर अनुसार २५ हजार तीन सय २८ रुपैयाँ तोकिएको एअरलाइन्सले जनाएको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो ।

एअर अरेबीयाको एअरबस ए ३२० सोमबार, बुधबार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाडौंका लागि उड्नेछ । दिउँसो ३ बजे नेपाल पुगेर त्यसै दिन जहाज ३:४५ मा आबुधाबी फर्कने छ । नेपालले कोरोना महामारीको जोखिमलाई मध्येनजर गर्दै बन्द गरेको अन्तर्राष्ट्रिय उडानहरु गएको भदौ १६ गतेदेखि खोलेको हो ।

यात्रुले उडान हुनुभन्दा बढीमा ७२ घण्टा भित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट हुनपर्छ । यूएईको राष्ट्रिय उडान मध्ये एअर अरेबीयाले यसअघि सारजहाँबाट मात्रै उडान भर्दै आएको थियो । यूएईको पाँचौं राष्ट्रिय एअरलाइन्स एतिहाद एअरवेज र एअर अरेबियाबीच राजधानी आबुधाबीबाट कम लागतको उडान सुरु गर्न सहमति गरेसँगै एअरलाइन्सले आफ्नो नेटवर्क विस्तार गरिरहेको छ ।

एअरलाइन्समार्फत उडान भर्नेहरुका लागि निशुल्क बीमाकोसमेत व्यवस्था गरिएको एअरलान्सले जनाएको छ । आबुधाबीबाट यसअघि हिमालय र इतिहादले काठमाडौंका लागि उडान गर्दै आएका छन् । एयर अरेबीयाले सस्तोमा उडान भर्ने भएपछि न्यून आय भएका नेपाली श्रमिकलाई स्वदेश फिर्तीमा सहज भएको छ ।

गएको जुलाई १४ देखि एअरलाइन्सले आबुधाबीबाट पनि उडान सेवा सुरु गरेको थियो । एअरलाइन्सका लागि काठमाडौं उडान आठौं रुट हो । यो नेटवर्कमा इजीप्ट, सुडान, बङाल्देश र अफगानिस्तान समावेश छन् ।

प्रतिक्रिया