नयाँ वर्षको सुरुवातसम्म भारतमा कोरोना खोप उपलब्ध हुने

अस्मिता बेल्बासे

एजेन्सी, २७ असोज : भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्ममा भारतमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउन सक्ने सम्भावना रहेको बताएका छन् । 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार भएको एक बैठकमा डा. हर्षवर्धनले आउँदो वर्षको सुरुवातसम्म भारतमा खोप उपलब्ध हुन सक्ने र एकभन्दा धेरै खोप हुन सक्ने सम्भावना रहेको पनि बताएका हुन् ।

‘आउँदो वर्षको सुरुवातसम्म हामीसँग खोप हुने आशा गरिरहेका छौँ र एकभन्दा धेरै माध्यमबाट पनि प्राप्त हुन सक्छ । डा. हर्षवर्धनले भने, हाम्रा विशेषज्ञ देशमा खोपको वितरण कसरी गर्न सकिन्छ भन्ने योजनामा काम गरिरहेको छ ।’

विश्व स्वास्थ्य सङ्गठनकी मुख्य वैज्ञानिक सौम्या स्वानीनाथनले पनि सन् २०२० को अन्त्यसम्म वा आउँदो वर्षको सुरुवातसम्म एक खोप दर्ताको लागि तयार हुने विश्वास व्यक्त गरेकि छिन् । भारतमा अहिले दुई स्वदेशी खोप मानव क्लिनिकल परीक्षणको दोस्रो चरणमा छ ।

यसमध्ये एक खोप भारत बायोटेक र आईसीएमआरको सहयोगमा विकसित भइरहेको छ । दोस्रो खोप जाइजस काडिला कम्पनीले बनाइरहेको छ । यसका अलावा पुनेको सिरम इन्स्टिच्युटले खोपका लागि एस्ट्राजेनेका (बेलायती-स्वीडेनी कम्पनी) सँग सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया