अध्यक्षद्वयको छलफल सकिएसँगै नेकपाले कर्णाली प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलायो

admin

काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ । छलफलमा ठोस रूपमा कुनै सहमति नभए पनि कर्णाली प्रदेश संसदीय दलका दुवै पक्षलाई बोलाएर छलफल गर्ने निष्कर्ष निकालेको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

मंगलबार दिउँसो अध्यक्षद्धय ओली र दाहालसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलले सबै पदाधिकारीलाई काठमाडौं आउन पत्र पठाएको हो ।

बिहीबार प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत असन्तुष्ट पक्षहरूसँग छलफल गरेर निचोड निकाल्ने समझदारी भएको सापकोटाले बताए ।

योसँगै पार्टी प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावलगायत अरू प्रक्रिया अघि नबढाउन आफूनिकटका सांसदलाई निर्देशन दिइसकेका छन् । नेता नेपाल पक्षले र दाहाल पक्षसँग सहमति नै गरिसकेको छ ।

उनीहरुलाई बिहीबार काठमाडौं आउन पत्रमा भनिएको अध्यक्ष दाहालका प्रेस संयोजक सापकोटाले जानकारी दिएका छन् । नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन् भने सहइन्चार्ज यमलाल कँडेल हुन् ।

जसले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविस्वास प्रस्ताव ल्याउने नेतृत्व गरेका थिए । त्यस्तै कर्णाली प्रदेका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मयाप्रसाद शर्मा रहेका छन् । त्यस्तै सो प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीलाई पनि काठमाडौं बोलाइएको छ ।

प्रतिक्रिया