खाद्य कम्पनीले सोमबारदेखि खसी–बोका बेच्दै, प्रतिकिलो ५५० रुपैयाँमा पाइने

admin

काठमाडौं, कात्तिक २ : सरकारले सोमबारदेखि दशैंका लागि खसी–बोका बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने सहुलियत दरको खसी–बोकालाई प्रति किलोग्राम ५५० रुपैयाँ तिर्नुपर्नेछ । यो बजार मूल्यभन्दा किलोमा एक सय रुपैयाँ सस्तो रहेको पनि जनाइएको छ ।

कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री थालिने कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले जानकारी दिनुभयो । कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोकाको प्रति किलोग्राम ५६० रुपैयाँ तोकेको र त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा बेच्न लागिएको हो ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको र मंगलबारसम्ममा एक हजार खसी–बोका आइपुग्ने सुवेदीको भनाइ छ ।

यसअघि तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरिएकामा यस वर्ष नल्याइएको र स्थानीय व्यापारीहरुसँग किन्दा महँगो हुने भएकाले च्याङ्ग्रा भने नबेच्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया