आज काग तिहार मनाइँदै, धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै

admin

काठमाडौं, कात्तिक २८ : यमपञ्चककाे पहिलाे दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएकाे दाेस्राे दिन अर्थात् आज मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजाे बिहीबारबाट नै सुरु भएको हाे ।

यस वर्ष यमदीपदान बिहबिारदेखि सुरु हुने भए पनि काग तिहार शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ।

कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । र मिष्ठान्न खुवाएर कागकाे पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ ।

भाेलि शनिबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिकाे भनाइ छ । अपराह्न १:४९ बजेपछि औंसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ । यसैगरी गाई, गोरु र नेवार समुदायको म्हपूजा आइतबार गर्नुपर्ने भनिएको छ । यस वर्ष भाइटीका भने मंसीर १ गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।

प्रतिक्रिया