उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकियो

admin

काठमाडौं, मंसिर ६ : उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईमधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।

कोरोना महामारीका कारण विगतको वर्षहरुमा भन्दा केही फरक ढंगले छठ मनाइएको छ । वीरगञ्जका छठघाटहरु विशेष किसिमले सजाइएका छैनन् । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएको थियो । वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिने गरेको थियो ।

यस वर्ष अधिकांश छठघाट सजाइएको छैन । छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो ।

विशेषगरी सहर बजारका धेरै ब्रतालुहरुले घरको छतमै कृत्रिम पोखरी बनाएर पूजा अर्चना गरेका छन् ।कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ ।

छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाइने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं, हेटौंडा, चितवन लगायतका केही पहाडी र भित्रि मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ ।

यस्तै पातसहितको मुला, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

प्रतिक्रिया