३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै

admin

काठमाडौं, मंसिर १२ : कोरोना भाइरस महामारीकाबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै छ । विगतका वर्षहरुमा १२ दिनसम्म दैनिक विभिन्न पौराणिक विष्णु पुराणमा आधारित नाच प्रदर्शन गरिँदै आएको कार्तिक नाच यसवर्ष २ दिनमा सीमित गरिएको छ । आज बराह अवतार प्रदर्शन गरिने छ ।


आज बेलुकी ८ बजेपछि ललितपुर मंगलबजारको कात्तिक डबलीमा बराह अवतारको नाच प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।

३ सय ७९ वर्षदेखि निरन्तर रुपमा प्रदर्शन गरिँदै आएको कारणले परम्परालाई कायम राख्न यो वर्ष नाच २ दिन भए पनि देखाउने निर्णय भएको चित्रकारको भनाइ छ । कोरोना सङ्क्रमण जोखिमका कारण नाचमा १८ वर्षभन्दा मुनिका र ६० वर्षभन्दा माथिका कलाकारहरु समावेश नगरिने पनि उहाँले बताउनुभयो ।

आज बेलुकी नाच प्रदर्शन गरिने पाटन दरबार क्षेत्रलाई सिल गरेर अति-आवश्यक कलाकार मात्र बसेर विभिन्न माध्यमबाट नाच हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । भोलि बेलुका नाचको मुख्य आकर्षण नृसिहं अवतार देखाइनेछ । ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालादेखि यो नाच निरन्तर प्रदर्शन हुँदै आएको छ । मल्लकालमा २७ दिनसम्म नाच प्रदर्शन गरिएको उल्लेख छ ।

प्रतिक्रिया