नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन : उत्सासहजनक मतदान, मतगणना जारी

admin

काठमाडौं, १३ मंसिर : देशभरका उद्यमी ब्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभामा भएको मतदान कार्य सम्पन्न भएको छ । शनिवार देशभरका उद्यमी ब्यवसायीहरुले निर्वाचनमा प्रत्यक्ष सहभागी भएर नयाँ नेतृत्वको लागि मतदान गरेका हुन् । मतदान सम्पन्न पछि अहिले मतगणना जारी छ ।

देशभरका जिल्ला नगर उद्योग वाणिज्य संघ, बस्तुगत तथा एशोसियट गरी कूल १ हजार ११६ जना मतदाताले चुनावमा मतदान गरेका थिए । गत चैत महिनामा हुनु पर्ने महासंघको साधारण सभा कोरोना भाइरसको महामारीको कारण स्थगित भएको थियो ।

सरकारले निर्वाचनको लागि स्वीकृत दिए पछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको थियो । जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा मतदानको व्यवस्था गरिएको थियो ।

कोरोना भाइरसको महामारीको संकटमा निर्वाचनमा देशभरका उद्यमी ब्यवसायीहरु शतप्रतिशत मतदान भएको महासंघले जनाएको छ । कोभिडको महामारीको कारण स्थगित भएको महासंघको चुनाव स्वास्थ्य सुरक्षालाई ख्याल गरेर देशभरका उद्यमी ब्यवसायीहरुले उत्साहित भएर निर्वाचनमा सहभागी भएको महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो ।

महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको सूची अनुसार एसोसिएट्स, द्धिराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार ११६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गरेका छन् । महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फ ९०४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १०१ र जिल्ला नगर उद्योग वाणिज्य संघका १०५ जनाले मतदानमा सहभागिता जनाएका छन् । जिल्ला र नगरमा १०५, एशोसिएटमा ९ सय ४ र वस्तुगत १ सय १ मत खसेको छ ।

महासंघको आगामी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको दुई समूहका उम्मेदवारहरुले चुनावी प्रतिष्पर्धामा भाग लिएका थिए । ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, बस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र प्रधान समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेदवारी दिएका थिए ।

मतदान सकिएपछि निर्वाचन अधिकृत र उम्मेदवारको रोहवरमा मतपेटिका सिलबन्दी गरेर नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याइएको छ। अहिले प्रज्ञा प्रतिष्ठानमा मतगणना कार्यक्रम जारी छ ।

प्रतिक्रिया