यस्तो छ नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध

admin

काठमाडौँ, मंसिर १४ : नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका स्रङचङ गम्पोसँग भएपछि पारिवारिक नाता पनि जोडिएको हो ।

त्यसपछि १३औँ शताब्दीमा नेपालका कलाकार अरनिकोले चीनमा नेपाली प्यागोडा शैलीलाई चर्चित बनाएका थिए । बौद्ध धर्मावलम्बी राष्ट्रका रूपमा रहेको चीन गौतम बुद्धका कारण पनि नेपालसँग धार्मिक हिसाबले निकट छ ।

बुद्धभूमि नेपालमा हुनु र चीनको अत्यधिक जनसङ्ख्या बौद्धमार्गी हुनु महìवपूर्ण सम्बन्धको डोरी नै मानिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि उनको एक औँला चीनको एक प्रान्तमा अझै पनि भगवान्को अवशेषका रूपमा सुरक्षित रहेको विज्ञहरू बताउँछन् ।

प्राचीन चीनका जिन वंशजका चिनियाँ भिक्षु फा जियानको भ्रमण र टान वंशजका भिक्षु जुआन ज्याङको भ्रमणलाई नेपाल–चीन सम्बन्धमा इतिहासका उल्लेखनीय घटना मानिन्छ । नेपाल र चीनका सरकार प्रमुखबीच ऐतिहासिक कालखण्डमा ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास छ ।

दुई देशले सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्धलाई औपचारिकता दिएपछि द्विपक्षीय कूटनीतिक मर्यादामा रही सम्बन्ध अगाडि बढ्दै आएको छ । दुवै देशले आपसी सम्बन्धमा मैत्रीभाव, समझदारी, आपसी सहयोग र सहकार्य गर्दै आएका छन् ।

यसैगरी दुवै देशले एकअर्काको सम्मानलाई मुख्य रूपमा प्राथमिकता दिँदै आएका छन् । पछिल्लो ६५ वर्ष लामो आधुनिक सम्बन्धमा असल छिमेकीपनका साथ सुख–दुःखमा एकअर्काको साथमा रहँदै आएका छन् ।

नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर साँध सिमाना जोडिएको छ । त्यसलाई विभिन्न समयमा भएका सन्धि सम्झौताले सम्बन्धलाई सुमधुर बनाउँदै लगेको छ । व्यापारिक सम्बन्धतर्फ भने सन् १८५६ को थापाथली सन्धिअघि नै ल्हासामा नेपालका वकिल बस्थे । पछि चीनको स्वशासित क्षेत्रभित्र तिब्बत रहन थालेपछि सन् १९५६ देखि नै तिब्बतमा नेपालको महावाणिज्यदूत रहेको छ । चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने दिशामा अग्रसर छ । गत वर्ष चीनका राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यीको उच्च स्तरीय भ्रमण नेपालमा भएको थियो ।

गत वर्ष उहाँहरूले नेपालको भ्रमण गर्नुहुँदा अब नेपाल–चीन सँगसँगै विकासको बाटोमा केन्द्रित हुने उद्घोष गर्नुभएको थियो । उहाँले सहमति र सम्झौता गर्नेभन्दा पनि कार्यान्वयनमा विशेष जोड दिएर अगाडि बढ्नुपर्ने औँल्याउनु भएको थियो ।

त्यसबेला नेपाल चीन विकासको नयाँ खाका कोर्दै २० वटा समझदारी पत्रमा दुई देशका राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको थियो । अघिल्लो वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको भ्रमण गर्नु हुँदा बहुआयामिक विकासका रूपमा रहेको बीआरआई परियोजनाको सदस्य बनेर विकास साझेदार बन्ने बाटो खुला गरेकी थिइन् ।सन् २०१८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले जुन १९ देखि २४ सम्म चीनको भ्रमण गरेकी थिइन् ।

चीनका प्रधानमन्त्री ली खच्याङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । सो क्रममा द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन थप पहल भयो । सोही समयमा रेल्वे परियोजना लगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता भएको थियो ।

चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्गको अध्ययन सकेर केरुङबाट काठमाडौँसम्म ८० किलोमिटर रेलमार्ग बनाउन गृहकार्य भइरहेको छ । नेपाल–चीनबीच ट्रान्स हिमालयन कनेक्टिभिटी, बीआरआई परियोजनालगायत दर्जनौँ विकास निर्माणका परियोजनामा काम भइरहेको छ । साथै भूकम्प पछिको पुनर्निर्माणमा सघाउँदै चीनले दरबार हाई स्कुल, मठमन्दिर, विमानस्थल, विभिन्न नाका निर्माण गरेर हस्तान्तरणसमेत गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयको गत वर्षको वार्षिक प्रतिवेदनअनुसार नेपालमा प्रत्यक्ष लगानीकर्ताको हिसाबले चीन पहिलो मुलुक हो । दोस्रो उच्च लगानीको साझेदार भारत, तेस्रोमा अमेरिका, चौथोमा जापान र पाँचाँैमा यूएई रहेका छन् । आयाततर्फ उच्च पाँच साझेदारमा पहिलोमा भारत र दोस्रोमा चीन पर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चादँनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया