नेपालमा हालसम्म करिब ३० हजारमा एचआईभी संक्रमण, घट्दै नयाँ संक्रमण

admin

काठमाडौं, मंसिर १५ : नेपालमा हालसम्म २९ हजार ५०३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ ।विश्व एड्स दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले यो तथ्यांक सार्वजनिक गर्नुभएको हो ।

तीमध्ये पुरुषको संख्या १७ हजार ५८७ र महिलाको संख्या ११ हजार ९१६ रहेको छ ।यस्तै, १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१३ प्रतिशत रहेको पनि डा. देवकोटाले बताउनुभयो ।यस वर्ष पनि मंगलबार (डिसेम्बर १)मा विश्वभर विश्व एड्स दिवस मनाइँदै छ ।

यस्तै, नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ ।यस्तै, एक वा सोभन्दा बढी एचआईभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशतभन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशतभन्दा कम भएको पनि निर्देशक डा. देवकोटाले बताउनुभयो ।

तथ्यांकअनुसार वि.सं. २०७७ असार मसान्तसम्ममा नेपालको कुल एचआईभी संक्रमितमध्ये १९ हजार ४०० जना अर्थात् ६६ प्रतिशतमात्र एआरभी उपचारमा रहेका छन् । सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ ।

यस्तै, बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा. देवकोटाले बताउनुभयो । यस्तै, एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ । एचआईभी संक्रमितहरुलाई ८० ओटा एआरटी केन्द्रहरु र २० ओटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया