सांसद बस्नेतद्वारा सूर्यविनायकमा ५० शय्याको अस्पताल शिलान्यास

admin

भक्तपुर, १५ मंसिर : सूर्यविनायक नगरपालिका–८ जगातीमा सूर्यविनायक नगरपालिकाले अस्पताल निर्माण सुरु गरेको छ । अस्पतालको आज पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेतले शिलान्यास गर्नुभयो ।

विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि यो अस्पताललाई २०० शय्यासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको सांसद बस्नेतले बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो, “सरकारले केही गरेन भन्नेहरुले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालु आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल बनाउँदै छ । ती मध्ये करिब २५० पालिकामा आज एकैसाथ अस्पतालको शिलान्यास भएको छ ।”

सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णयअनुसार यसलाई नीति तथा कार्यक्रममा समावेश गरि अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् । अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ ।

सरकारले चालु वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माणको काम सुरु हुने बताउदै उहाँले नीति तथा कार्यक्रममा ५ देखि १५ शय्याको अस्पताल निर्माण गरिने भने पनि सबैतिर १५ शय्याकै अस्पताल बनाउने सरकारले तयारी गरेको भनाइ राख्नुभयो ।

भक्तपुरका पनि सबै पालिकामा अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य पुरा हुन लागेको र चाँगुनारायण नगरपालिकामा पनि केही दिनभित्रै १५ शय्याको अस्पताल सञ्चालन हुने उहाँले बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले जगातीमा निर्माण गर्न लागेको अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउछ भन्दै सांसद विकास कोष र नगरपालिकाको साझेदारीमा तत्काल रु. एक करोड ५० लाखको लगानीमा अस्पताल निर्माण हुने उहाँले बताउनुभयो ।

सरकारको तर्फबाट थप दुई करोड रुपैया आउने चरणमा रहेको बताउदै तत्काल सात शय्याको आइसियू, पाँच शय्याको भेन्टिलेटर, नौ शय्याको क्याबिन र ३० शय्याको जनरल वार्डको अस्पतालसञ्चालनमा आउने सांसद बस्नेतले बताउनुभयो । यस अस्पताल सूर्यविनायक नगरपालिकाका बासिन्दाका लागि मात्रै नभई अरनिको राजमार्गसंग जोडिएकाले पूर्वबाट आउने विरामीको सेवामा समेत केन्द्रित रहने सांसद बस्नेतको भनाई थियो ।

सरकारले कोरोना नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, कानूनी शासनको स्थापनादेखि विकासका ठूला आयोजनाहरु अगाडि बढाएको देखेर आत्तिएकाहरु सरकार विरुद्ध लागेको टिप्पणी गर्दै उहाँले केपी शर्मा ओली नेतृत्व सरकारले प्रत्येक चुनौती चिर्दै पाँच वर्षको कार्यभार पुरा गर्ने बताउनुभयो ।

कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेसनमा बस्नु भएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अस्पताल निर्माणका बारेमा प्रतिक्रिया दिदै सूर्यविनायक नगर अस्पताल सूर्यविनायक नगरवासीका लागि वरदान सावित हुने बताउनुभयो ।

उहाँले नगरपालिकाका बासिन्दाले सहज र सुलभ उपचार पाउने गरी व्यबस्थापन गर्ने र यहाँका बासिन्दालाई काठमाडौंका अस्पताल धाउनु पर्ने बाध्यताको नगरपालिकाले अन्त्य गर्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले अस्पताल छिटो भन्दा छिटो सञ्चालनमा आउने बताउनुभयो ।

प्रतिक्रिया