आज डिसेम्बर ३ : अपाङ्गता भएका व्यक्तिको २९औं अन्तर्राष्ट्रिय दिवस मनाइँदै

admin

काठमाडौं, १८ मंसिर : हरेक वर्ष ३ डिसेम्बरका दिन अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । यो नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो ।

कोरोना भाइरस संक्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गरे ।

उनले आफूहरूको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रूपमा वकालतलगायत विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाइने बताए । महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिको अनुमोदन पश्चात् र राज्य पुनःसरचनापश्चातको नयाँ पृष्ठभूमिमा नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारको सवालमा केही राम्रा नीतिगत परिवर्तन भएका भए पनि व्यावहारिक कार्यान्वयनका क्षेत्रमा समस्या रहेको बताए ।

महासङ्घले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणना गरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सन् १९९२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया